अमेरिकी सिनेटर र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एमसीसी कार्यान्वयनप्रति खुशी व्यक्त
काठमाडौँ । अमेरिकी सिनेटर क्रिस भान होलेन र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज (आइतबार) सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए ।
उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पु¥याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।
‘दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो । सिनेटरजीको नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो, यो अब कसरी, के हुन्छ भन्ने जिज्ञासा थियो, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा आशा थियो,’ उनले भने, ‘अध्यक्षले यो सबै कुराको बारेमा नेपालको सन्दर्भमा हाम्रो पार्टीको दृष्टिकोण राख्नु भयो । शाीन्त प्रक्रिया हाम्रो सरकार हुँदैखेर टुंगोमा पुर्याउन खोजेको कुरा राख्दै तीन कुराहरु अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर हाम्रो तर्फबाट शान्ति प्रक्रिया टुंगोमा पु¥याउन लागेको छौं, भन्नेकुरा भयो ।’
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएको जानकारी गराए । उनले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएको जानकारी दिए ।
‘एमसीसीको सन्दर्भ आएको छ । एमसीसी नेपालले अनुमोदन गरेको छ भन्ने उहाँको भनाइ थियो । नेपालले एमसीसी अनुमोदन गरेर कार्यान्वयन समेत गर्नलाई अघि बढीरहेको कुराले आफूहरु यसलाई लिएर सकारात्मक भएको र खुशी भएको कुरा राख्नुभयो,’ उनले भने ।
द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन
काठमाडौँ, १७ भदौ ः सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै छन् । भ्रमणका क्रममा उहाँले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए ।
सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए । नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको समेत अवलोकन गरेका उनले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे ।
सिनेटर होलेनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७६औँ वर्षका अवसरमा दुई देशबीचको सम्बन्ध थप वृहत र सुमधुर बनाउने तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल भ्रमण गरेको उल्लेख गरे । यसअघि सन् १९८० मा आफूले नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले त्यस अवधिमा नेपालमा धेरै परिवर्तन र उपलब्धि भएको आफूले पाएको सुनाए । सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक, आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गरेको उल्लेख गर्दै भ्रमण निकै राम्रो र फलदायी भएको बताए ।
नेपालको कलिलो र जीवन्त लोकतन्त्र निकै महत्वपूर्ण भएको बताउँदै उनले अमेरिकाले नेपालको लोकतन्त्र सृदृढिकरणमा सदैव साझेदारी गर्दै आएको चर्चा गरे । नेपाल भ्रमणपछि सिनेटर होलेनले श्रीलङ्का र माल्दिभ्सको भ्रमण गर्ने बताइएको छ । आफ्नो भ्रमणका क्रममा उनले ती राष्ट्रहरूसँग पनि द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गर्नेछन् ।