सरस्वती नेपालीले पाइन् अमेरिकाको ‘जीएआरसी अवार्ड’
काठमाडौँ । सीमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) प्राप्त गरेकी छन् ।
२० वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्ग भएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गरिरहेकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त गरेको यहाँस्थित अमेरिकी दूतावासले बुधबार जनाएको छ ।
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन् । सम्मान र समानताको खोजीमा उनको योगदान, साहस र समर्पणको उदाहरण हो । रासस