प्रधानमन्त्रीले जनताको विश्वास गुमाईसके : मोहन बैद्य


२०७९ चैत ५ आइतबार ००:५१ बजे

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको विश्वास गुमाईसकेको दावी गरेका छन् ।

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको उनले जिकिर गरे । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको लगाए ।

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लाश’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौ नि हामीले । सबै असफल छन् । काँग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौ कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लाश जस्तैलाई काँध थापेर के गर्ने ? सक्ने अवस्थामा छैन अव त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ । त्यसकारणले हामीले के हो भनेदेखि एउटा सशक्त तयारी गरेर जानुपर्छ । जनतामा केही हुन्छ कि भन्ने विश्वास पनि पूरै ध्वस्त भएको छ । भोट कसलाई दिने ल भन्नुस् त ? एउटा पार्टीलाई दिने हो । यो गर्छु, यो गर्छु भन्ने त चाहियो । बाचा बन्धन गर्नु प¥यो । चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो ।’

उनले थपे, ‘संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर काँग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए हेर्नुस् । अव सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस अव । यहाँ भन्दा बिचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि । एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरि फर्केर काँग्रेसतिर । ल हर्नुस् । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भईसक्यो भन्नुस् । यस्तो चालले अव चल्नेवाला छैन । जनताले विश्वास पनि अव गर्नेवाला छैनन् ।’

महासचिव बैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि काँग्रेस असफल भईसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढने अवस्था नरहेको समेत बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७