काठमाडौं, २ बैसाख : नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेश शेर्पाले चार वर्षपछि अंश मुद्दा जितेका छन् । काठमाडौँ जिल्ला अदातलले गणेशको पक्षमा फैसला सुनाएको छ ।
अदालतले गणेशकी सौतेनी आमा कमलाको नाममा काठमाडौँमा रहेको ११ आना २ दाम जग्गा र घर समेत, इलाममा रहेको ३ आना ३ पैसा जग्गा, भोजपुर बोखिममा रहेको १८ रोपनी ८ आना १ पैसा जग्गा, भोजपुरकै अर्को ३२ रोपनी २ आना २ पैसा १ दाम जग्गा र झापाको गरामनीमा रहेको २ रोपनी १५ आना गरी सम्पूर्ण जग्गाबाट ७ भागको एक भाग अंशवण्डा गर्न आदेश दिएको हो ।
आफ्ना बाबु, सौतेनी आमा र सौतेनी भाइ–बहिनीलाई प्रतिवादी बनाई गणेशले मुद्दा दायर गरेका थिए । सो अंश मुद्दामा गत २०७४ फागुन २ गते जिल्ला अदालत काठमाडौँले गणेशको पक्षमा फैसला गरेको छ । अदालतले सौतनी आमा कमला शेर्पाको नाममा रहेको जायजेथाबाट अंश भराई दिन फैसला दिएको छ ।
गणेशले बिपक्षी उपर २०७० सालमा र २०७१ सालमा अंश मुद्दा दायर गरेपछि बाबु कृपाशुर शेर्पाले २०७२ साल जेठ १८ गते उनलाई छोरा स्वीकार गरी नागरिकता बनाई दिएका थिए । त्यसपछि उनले मुद्दा फिर्ता लिएका थिए । शुरुमा पूर्वमन्त्री शेर्पाले गणेशलाई छोरा समेत स्वीकार गर्न मानेका थिएनन् । तर, विभिन्न सञ्चार माध्यममा समाचार धमाधम बाहिरिएपछि पूर्वमन्त्री शेर्पाले गणेशलाई छोराको रुपमा नागरिकता दिएका थिए ।
साथै कृपाशुरले अदालतमा गणेशले अंशबापत नगद बुझिलिएको बयान समेत पेश गरेका थिए । पछि अंश नदिएको र बाबुले धम्की दिएको भन्दै गणेशले २०७३ सालमा फेरि अंशमुद्दा दायर गरेका थिए । २०३६ सालमा कृपाशुर शेर्पा र गणेशकी आमा धनमाया भन्ने विष्णुमाया शेर्पा दर्नालबीच विवाह भएको र २०३७ साल मंसिरमा गणेशको जन्म भएको बताउँदै उनले बाबुले आफ्नी आमा र आफूलाई इज्जत अनुसार खान लगाउन नदिएको फिरादपत्रमा उल्लेख गरेका छन् ।
गणेश जन्मनुअघि नै कृपाशुरको दुई बिहे भएको र जेठी श्रीमतीतर्फ २ छोरी र कान्छीतर्फ एक छोरा र एक छोरी रहेको आफूलाई बाबुले वास्ता नगर्ने र अंश समेत नदिएको भन्दै मुद्दा दायर गरेका थिए । गणेशले २०७१ सालमा अंश मुद्दा दायर गरेपछि बाबु कृपाशुर शेर्पाले नागरिकता बनाई अंश बापत घर समेत खरिद गरिदिने भनेपछि आफूले मुद्दा फिर्ता लिएको भन्दै अदालतमा उनले फिराद पत्र बुझाएका थिए ।
बाबुले आफूलाई ‘त कोही होइनस, अब आइन्दा मलाई सम्पर्क नगर्नु, गरेमा राम्रो हुने छैन’ भन्दै धम्काएको र अंशियारमा अंश लाग्नुपर्ने सम्पूर्ण सम्पति विपक्षीहरुकै भागमा रहेको भन्दै बिपक्षी पिता १ भाग, सौतेनी आमा कमला १, फुर्वा तेन्जिङ शेर्पा १, निमा डोल्मा १, पेमा शेर्पा १, लक्की शेर्पा १ र म फिरादी गणेश शेर्पा १ गरी ७ भागको एक भाग म फिरादीलाई भराई पाँउ भन्ने व्यहोराको फिराद दाबी गरेका थिए । कृपाशुरको नाममा सम्पति नरहेको र सौतेनी आमा कमला शेर्पाको नाममा मात्र सम्पति रहेको र त्यो सम्पति आफ्नो स्वआर्जनको सम्पति भएकोले अंश नलाग्ने कमलाको जिकिर थियो । उनले कृपाशुर र गणेशकी आमावीच बिहे भएकोबारे आफूलाई जानकारी नभएको अदालतमा बयान दिएकी थिइन् ।
जिल्ला अदालत काठमाडौंले अंशवण्डाको १० नंं. को कानुनी व्यवस्थाबाट लोग्ने वा बाबुआमाले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पति छोराछोरी वा श्रीमतीका लागि प्रैतृक सम्पत्ति मान्नु पर्ने हुन्छ भन्ने सिद्धान्तलाई समेत नजिर बनाँउदै प्रस्तुत मुद्दामा बाबुको नाममा कुनै सम्पत्ति देखिन नआए पनि आमाको नाममा सम्पत्ति रहेकोले अंशवण्डाको महलको १० नं. अनुसार आमाको नाममा रहेको सम्पत्तिबाट छोराछोरीले अंश नपाउने भन्न मिलेन भन्ने फैसला गरेको छ । यस्तै अदालतले २०७३ साल माघ महिनादेखि अंश नलिएसम्मको समयसम्म माना चामल भराई वापतको मासिक ५ हजार प्रतिवादीबाट बादीलाई भराई दिनु भन्ने फैसला समेत गरेको छ । पूर्वमन्त्री शेर्पाले गाडी र बैङ्क ब्यालेन्सबारे सम्पत्ति खुलाएका छैनन् ।
अदालतले फैसलामा भनेको छ–‘वादी प्रतिवादीबीच नातामा विवाद नभई निजहरुबीच अंशवण्डा भएको नदेखिएको, वादीले अंश पाइसकेको भन्ने प्रमाणबाट देखिन नआएबाट तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्ति निजी एवम् बकसबाट पाएको बण्डा नलाग्ने भन्ने जिकीर लिएपनि बाबुआमाको सम्पति छोराछोरीका लागि प्रैतृक सम्पत्ति रहेभएको अवस्था देखिदा तायदाती फाँटवारीमा उल्लेखित दर्ता श्रेस्ता भिडेको सम्पत्तिबाट अविवाहित अंशियारहरुको विवाह खर्च छुट्टाई वादीले ७ भागको १ भाग अंश छुट्टयाई चलन चलाई पाउने ठहर्छ ।’ भनी न्यायाधीस नारायणप्रसाद पौडेलले फैसला गरेका छन् ।