काठमाडौँ, ३० चैत : सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ । केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनः गठित मन्त्रालयका पुनर्संरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
उनले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताए । ‘मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसारको पुनर्ग्ठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको छ’, उनले भने, ‘किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने छ ।’
मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै दुई हजार ६९४ जनाको दरबन्दी कायम गरेको थियो । सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २३३ र कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।
कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन । एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्ता समेत हुने गरेका छन् । प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिलेको भएको संरचनाअनुसार मन्त्रालय रहने बताए ।