म्यादी प्रहरीले न्यानो कपडा पाएनन्ः जाडोमा काम्दै ड्युटीमा खटिंदै
काठमाडौं : नौ दिनपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षामा तैनाथ म्यादी प्रहरीले जाडोमा पनि एकसरो पातलो चुस्ताको कपडा मात्र लगाएर ड्युटी गर्न बाध्य छन् ।
काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा म्यादी प्रहरीको कपडाको ठेक्का पाएका राजीव बस्नेतले चुनाव आउन ९ दिन अघिसम्म पनि म्यादी प्रहरीलाई स्वीटर आपूर्ति गरेका छैनन् । जसका कारण जाडो र ठण्डीमा समेत पातलो चुस्ताका भरमा म्यादी प्रहरी ड्युटी गर्न बाध्य भएका छन् । बालुवाटारको दबाबमा बस्नेतले काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका म्यादी प्रहरीको पोशाकको ठेक्का पाएकाले प्रहरीले उनलाई कात्तिक २५ सम्म स्वेटर नदिंदा समेत ताकेता समेत गर्न सकेको छैन ।
विना प्रतिस्पर्धा आइजीपी धिरजप्रताप सिंहले काठमाडौं उपत्यकाको म्यादी प्रहरीको पोशाकको ठेक्का बस्नेतलाई दिन तीनवटै प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । राजीव बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतका भाइ भएकाले उनलाई विनाप्रतिस्पर्धा ठेक्का दिइएको थियो ।
पहिलाका चुनावहरुमा प्रहरी प्रधान कार्यालयबाटै म्यादीका लागि ३ महिनाअघि टेण्डर गरी प्रतिस्पर्धाका आधारमा गुणस्तरीय कपडा खरिद हुने गरेको थियो । तर अहिले भने गृहमन्त्री र बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाका आसेपासेहरु मानिसले विनाप्रतिस्पर्धा म्यादी प्रहरीको पोशाकको ठेक्का पाएका छन् । जसका कारण कतिपय जिल्लामा म्यादी प्रहरीको अवधि ४० दिन पनि नटिक्ने कपडा समेत खरिद गर्न जिल्लाका हाकिमहरु बाध्य भएका छन् ।
काठमाडौं उपत्यका लगायतका पहाडी र हिमाली जिल्लामा कात्तिक सुरुदेखि नै जाडोका कारण ज्याकेट र स्वेटर लगाउनुपर्छ । तर काठमाडौं उपत्यकामा खटिने म्यादी प्रहरीले निर्वाचनको १० दिनअघि कात्तिक २५ गतेसम्म पनि स्वेटर लगाउन पाएका छैनन् ।
जाडोमा रातिसम्म एकसरो पातलो गुणस्तरहीन चुस्ता लगाएर लुगलुग काम्दै म्यादी प्रहरी ड्युटीमा खटिनुपरेको छ । महाराजगंज चोकमा बिहीबार साँझ ड्युटीमा भेटिएका एक म्यादी प्रहरीले जाडोमा स्वेटर समेत नपाएकाले काम्दै ड्युटी गर्नुपरेको बताए । जाडो निकै बढिसकेकाले रुघाखोकी र ज्वरोले सताउने चिन्तामा म्यादी प्रहरी काम गर्न बाध्य छन् ।
गरिबी र बेरोजगारीका कारण म्यादी प्रहरीको जागिर खान आएकाहरुलाई दिनुपर्ने सुविधा समेत नदिएर जाडोमा ड्युटीमा खटाएकोबारेमा नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयका डीआइजी दीपक थापाले भने–‘ड्रेसकोड कात्तिक मसान्तसम्म सर्ट पाइन्ट मात्र लाउने हो । हामीले पनि त्यही लाउँछौं ।’
डीआइजी थापाले कात्तिक मसान्तसम्म सर्ट पाइन्ट लगाउने गरेको प्रतिक्रिया दिए पनि म्यादी प्रहरीसँग परिचालित बहालवाला प्रहरी भने पार्का ज्याकेटमै ड्युटी गरिरहेको देखिन्छ । बहालवाला प्रहरीले त ऊलन सर्ट र ऊलन पाइन्ट लगाउँछन् । तर म्यादी प्रहरीले पातलो कपडामा ड्यु्टी गरिरहेका छन् ।
काठमाडौंमा ३ हजार २७९ जना म्यादी प्रहरी परिचालित छन् । ४० दिनको लागि भर्ना भएका म्यादीप्रहरीले ३४ हजार सात सय ६० र खाद्यान्नवापत सात हजार दुई सय प्राप्त गर्छन् ।
बहालवाला प्रहरी पार्का ज्याकेट लगाएर ड्युटीमा परिचालित छन्, तर उनीहरुसँग खटिने म्यादी प्रहरी चुस्ताकै भरमा ड्युटीमा खटिएका छन् । २०७९ असोज ३० देखि नियुक्तिपत्र लिएका उनीहरुलाई त्यही दिनदेखि उनीहरुले पाउने पोशाकसहित न्यानो कपडा दिनुपर्नेमा काठमाडौं उपत्यकामा कात्तिक २५ गतेसम्म पनि पाउन सकेका छैनन् । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकामा मात्र होइन, प्रदेश १ का हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुमा समेत म्यादी प्रहरीले स्वेटर पाउन नसकेको स्रोतले बताएको छ ।
पछिल्लो समयमा प्रहरी प्रधान कार्यालयले टेण्डर प्रक्रिया छल्न जिल्ला जिल्लाबाट बन्दोबस्तीका सामान खरिद गर्दैआएको छ । सार्वजनिक खरिद ऐन छल्दै गुणस्तरहीन सामान खरिद गरी प्रहरीमा अनियमितता हुँदैआएको छ ।
म्यादी प्रहरीको पोशाक खरिदमा पनि प्रहरीको प्रबन्ध निर्देशनालयको सेटिङमा जिल्ला जिल्लामा खरिद गरिएको गुनासो प्रहरीकै जिल्ला प्रमुखहरुको छ । खरिद ऐन छल्न जिल्ला जिल्लालाई अधिकार दिइएको भन्ने गरिन्छ तर वास्तविकता त्यो भन्दा फरक रहेको एक एसपीको गुनासो छ– ‘माथिबाट यो ठेकेदारसँग खरिद गर्नू भन्ने आदेश आउँछ, त्यही अनुसार खरिद गर्ने र भुक्तानी दिने काम हाम्रो हो । म्यादी प्रहरीको पोशाक गुणस्तरहीन भए पनि हामीले केही गर्नसक्ने अवस्था छैन ।’