पाइलट विजय लामालाई विमान उडानमा रोक

काठमाडौं । वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ । उडानका क्रममा एक युट्युबरलाई ककपिटमै अन्तर्वार्ता दिएपछि निगमले लामालाई कारबाही गर्दै उडानमा रोक लगाएको हो ।
उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नु पूर्व अनुमति लिनुपर्ने हुन्छ । ५८ वर्ष उमेर हदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पनि निगमले निर्देशन दिएको छ । एभिएसन भ्लगर साम चुईले दुबई–काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएका थिए ।