मुल नहर बनेको आधा दशकपछि शाखा नहरको सुरसार


२०७९ असार २ बिहीबार ००:११ बजे

कञ्चनपुर । कञ्चनपुरको राष्ट्रिय गौरबको आयोजनामा पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्र्तगत २०७३ सालमा १३ किलोमिटर मुल नहर तयार भयो ।

२०६३/०६४ मा आयोजनाको काम सुरु भएपनि कामको गति लिन नसकेका बेला निर्माणको अन्तिम चरणमा रहेको २८ किलोमिटर मुलनहरसम्म शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । हाल १५ किलोमिटर मुल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा नहर निर्माणको अन्तिम चरणमा छ ।

केही वर्षअघि मात्रै राष्ट्रिय गौरबको आयोजनामा समेटिएर प्राथमिकतामा परेको आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले १ अर्ब २६ करोड रकम विनियोजन गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभाव लगायतका कारणले कछुवा गतिमा अघि बढ्दै आएको आयोजना पछिल्लो समय भने निर्माणको गति बढाउनुका साथै शाखा नहर बनाएर करिब ५ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले आयोजना अन्र्तगत निर्माण भएको मूल नहरससम्मको २२ वटा शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरुवात भएको बताए । जग्गा अधिग्रहणका लागि अयाोजनाले भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिका-७, ८ वडासम्मको विवरण सार्वजनिक गरेको छ ।

जग्गाधनीलाई ३५ दिने म्याद दिँदै आयोजनाले मुआब्जा प्रक्रियाका लागि आयोजनामा निवेदनसहित आउन आग्रह गरेको छ । ‘लामो प्रयासपछि शाखा नहर निर्माणले गति पाउने भएको छ’, निर्देशक बमले भने, ‘नहरमा पानी छोड्ने विषयमा पनि भारतीय पक्षसित समन्वय हुँदैछ ।’

त्यसैगरी मूल नहरमा पानी छाड्ने विषयमा नहर अनुगमनका लागि भारतीय एनएचपिसीको टोली समेत यहाँ आएको छ । ‘भारतीय टोलीलाई आज बनेको मूल नहर अनुगमन गराएर पानी कहिलेदेखि छाड्ने भन्ने विषयमा छलफल गरिरहेका छौं’, निर्देशक बमले भने, ‘भारतले ब्रह्मदेव क्षेत्रको नेपाली भूमिसम्म बनाउनुपर्ने एक हजार सय २ सय मिटर मुल नहर बनाएपनि पानी परीक्षण गर्न बाँकी छ ।’ महाकाली सन्धी अनुसार भारतले महाकाली नदीमा हेड रेगुलेटर लगायतका संरचना र नेपाल-भारत सीमानासम्म एक हजार दुई सय मिटर लम्बाइको मूल नहर बनाउनुपर्ने हो । जुन सम्झौताको करिब २४ वर्षपछि पुरा भएको छ ।

शाखा नहरहरु निर्माण भएपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानहरुले सिँचाइ सुविधा पाउनेछन् । दश वर्षभित्र मूल नहर निर्माण सक्ने गरी रु ३५ अर्वको योजना बनाइएको छ । १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार पाँच सय हेक्टर जमिनलाई सिँचाइ सुविधा पुग्नेछ ।

यहाँको बेदकोट नगरपालिका-५ धरमपुरका लालबहादुर डगौंराले हरेक वर्ष खेती गर्ने बेला सिँचाइको समस्या हुने गरेको बताए । ‘नहरमा पानी आए त किसानहरु कृषि पेशामा अझ बढी आकर्षित हुने थिए’, उनले भने, ‘आफ्नै खेतका लागि पानी छैन्, अधिँया लिएर कमाउन पनि दुखः नै छ ।’

त्यसैगरी शुक्लाफाटा नगरपालिका- १ का रामप्रसाद रानाले दशकौंअघि गाउँमा सिँचाइ पुग्ने भन्दै नहरका लागि नापजाँच गरिएको बताए । ‘बोरिङ गर्दा पनि पानी आउँदैन’, उनले भने, ‘बस्ती बसेयता आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता अझै हटेको छैन् ।’ उनले महाकाली सिँचाइ आयोजनाले शाखा नहर निर्माण अघि बढाएर चाँडै किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउन पहल गर्नुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७