एमाले अहिलेसम्म १२ पालिकामा विजयी (सूची)


२०७९ जेठ १ आइतबार १९:२५ बजे

काठमाडौं - पाँच दलीय गठबन्धनको चुनाैतिका वावजुद प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक दर्जन पालिकामा जित हासिल गरिसकेको छ । अहिलेसम्म मत परिणाम आएका ३० पालिकामध्ये एमालेले १२ वटा पालिकामा जित हात पारेको हो । एमालेले मनाङ, मुस्ताङ, डोल्पा, बजाङ, बाजुरा, म्याग्दी, सोलुखुम्बुमा खाता खोलेको छ । नेपाली कांग्रेस १० पालिका र माओवादीले ६ पालिकामा जित हासिल गरेको छ ।

एमाले
१.शे-फोक्सुन्डो
डोल्पाको शे-फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन् । यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन ।

गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन् । उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए । गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन् । गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ ।

त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ । वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ ।

२.चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन् । उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन् । २७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए । उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो । यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन् ।

३. लो-घेकर दामोदरकुण्ड
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन् ।

२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

४.मनाङको ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए ।

उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए ।

५.मुस्ताङ वारागुङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन् । कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन् । गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ । कुल मतदाता २ हजार २४४ रहेका छन् ।

६. लोमान्थाङ गाउँपालिका
एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ । एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका टसी गुरुङले ५१४ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी भएकी छन् । विष्टले ६३२ मत ल्याउँदा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ प्रतिशत ल्याएकी हुन् । कुल जनसंख्या १ हजार ९९६ रहँदा मतदाता १ हजार ९४८ मतदाता रहेका छन् ।

७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी भएका हुन् । एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी भएको छ । कांग्रेसका निर्मला थापाले १ हजार ५८२ मत ल्याएकी छन् । ५ वटा वडामा वडा १ कांग्रेसले विजयी भए पनि बाँकी एमालेले विजयी भएको छ ।

८.नवलपुरको बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन् । ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरेका हुन् । उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित भएकी छन्। उनले ३ हजार ९६२ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन् ।
वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा नै जित हासिल गरेको थियो ।

९. बाजुराको साइपल
बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन् । कांग्रेसका उजले बोहरालाई पराजित गर्दै जित हासिल गरेका हुन् । मानविरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी भएकी छन् । कांग्रेसकी बाटु बोहरा प्रतिस्पधी रहेकी थिइन् । गाउँपालिकामा २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष मै जित हासिल गरेको थिए । गाउँपालिकामा कुल मतदाता १४ सय ९९ मतदाता रहेका छन् ।

१०. थलारा गाउँपालिका
बझाङको थलारागाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पधी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए । खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन् । २०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो ।

११. मुस्ताङको थासाङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदिप गौचन विजयी भएका छन् । उनले ५ वडामा एउटा वडा जितेको एमालेले गाउँपालिका अध्यक्षमा नै जित हासिल गरेको हो । प्रदिपले १ हजार १४४ मत ल्याउँदा कांग्रेसकी बाल कुमारी शेरचन १ हजार ५५ मत ल्याएकी छन् ।

उपाध्यक्षमा सोमल हिराचन विजयी भएका छन्। एमालेकी सुमिता शेर्पा लाई उनले हराएका हुन् । हिराचनले १ हजार १९२ मत ल्याउँदा सुमिता शेर्पाले १ हजार ८० मत ल्याएकी छन् । वडा नं २ मा एमाले विजयी हुँदा वडा नं १, ३, ४, ५ नेपाली कांग्रेस विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो ।
१२. म्याग्दीको मालिका
म्याग्दीको मालिका गाउँपालिकामा एमालेका बेगप्रसाद गर्बुजा विजयी भएका छन् । अध्यक्षमा ३ हजार ९१ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगर २ हजार ९७० मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भएकी छन् । उनले ३ हजार १६७ मत ल्याउँदा कांग्रेसकी पिपला बुढाले ३ हजार १३० मत ल्याएकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७