भरतपुरको मत गणनास्थलमा फलामे बार


२०७९ बैशाख २९ बिहीबार १२:१० बजे

चितवन । यसपल्टको स्थानीय चुनावमा चर्चाको ‘इपी सेन्टर’ बनेको चितवन भरतपुरमा मतपत्र सुरक्षाका लागि कडा व्यवस्था मिलाइएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेर बदनाम भरतपुर महानगरपालिकामा यो पटक निर्वाचन कार्यालयले विशेष व्यवस्था गरेको हो ।

त्यसबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेनु नेकपा एमालेका देवी ज्ञवालीसँग हार्ने अवस्था आएपछि माओवादीका दुई प्रतिनिधिले मतपत्र च्यात्नुका साथै चपाएका थिए । विगतको घटनालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुरको मत गणनास्थलमा विशेष तयारी गरेर फलामे बार लगाएको हो ।

निर्वाचन आयोगको निर्देशनअनुसार भरतपुरको मत गणनास्थलमा सिसी क्यामेराको जोडिँदैछ । भरतपुर महानगरपालिकाको मत गणना हुने चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा फलामे बार पनि हालिँदैछ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मत गणनाका लागि व्यवस्थापन गरिँदैछ । दलका प्रतिनिधिलाई मतपत्र च्यात्न नदिन मत गणनास्थलमा फलामे बारले घेरिएको हो । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्याएर फलामको बार हालिएको हो ।

मत गणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । उनका अनुसार सिसी क्यामरा पनि जडान गरिएको छ । यदि बिजुली गएमा स्वचालित जेनेरेटर पनि राखिएको छ । २९ वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ स्थानीय प्रशासनले तीन तहको सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिने भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७