वरिष्ठ अधिवक्ता शम्भु थापाकाे वहस : प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं, १३ माघ । प्रतिनिधिसभा विघटनको मुद्दामा आज (मंगलबार) संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।
अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गरिरहेका छन् । हिजोबाट उनको बहस शुरु भएको थियो । थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरिरहेका छन् । बहसको ११ औं दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको हो । विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्ने छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो । साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो ।
सो निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको हो । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।