स्वास्थ्य चौकीमा सिटामोल समेत छैन
कालिकोट, ११ मंसिर । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोल समेत अभाव भएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्य चौकीका प्रमुख कमल बमले जानकारी दिए । ‘गाउँपालिकाले रु २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन’, उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।’
मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्य चौकीका प्रमुख बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताए ।
स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीयवासी कालीबहादुर बमले बताए । ‘हामीले निःशुल्क पाइने सिटामोल जस्ता औषधि समेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।’