रकम नभएको खाताको चेक दिएर २४ लाख ठगेका पारस पक्राउ

काठमाडौं, १३ साउन । रकम नभएको खाताको चेक दिएर २४ लाख ठगी गरेर फरार एक व्यक्ति लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका छन् ।
रकम नभएको खाताको चेक दिएर दुई जनाबाट मोटो रमक ठगी गरेका नुवाकोट जिल्ला साविक थानापति गाविस–९ घर भई हाल ललितपुर महानगरपालिका–१४, तिखिदेवल बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
खातामा रकम नभएको जानी जानी चेक दिएर आकाश लामिछानेसहित दुई जनालाई ठगी गरेको अभियोगमा उच्च अदालत पाटनको २०७६–१०–२९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
फरार लोहनीलाई प्रहरीले सोमबार काठमाडौंको मातातीर्थमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।