जीप दुर्घटनामा घाइते बिरुवा कन्स्ट्रक्सनका तीन जनाको सेनाको हेलिकोप्टरबाट उद्दार
पाँचथर २८, असार । जीप दुर्घटनमा परी घाइते भएका बिरुवा कन्स्ट्रक्सन कम्पनीमा कार्यरत तीन जनाको जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष पेम्बा लामा शेर्पाको कम्पनी बिरुवा कन्सट्रक्सनमा कार्यरत ५ कर्मचारीहरु आइतबार पाँचथरमा बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
आइतबार दिउँसो विरुवा कन्सट्रक्सनको बोलेरो जीप जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर–३, रानीगाउँमा दुर्घटनामा परेको थियो । निर्माणधिन तमोर कोरिडोरको काम हेरेर सदरमुकाम फिदिम फर्किने क्रममा जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते ५ मध्ये गम्भीर घाइते भएका २२ वर्षिय सरोज बस्नेत, ३६ वर्षिय रोजन्द्र कार्की र २६ वर्षिय टीका आचार्यको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए । उद्दारपछि उनीहरूलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको छ ।
गम्भीर घाइतेहरूको उपचारका लागि भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्ग र गृहमन्त्री रामबहादुर थापाको पहलमा उद्दार गरिएको हो ।
उद्दारको सम्पूर्ण खर्च कम्पनीले व्यहोर गरेको बिरुवा कन्सट्रक्सनको अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष शेर्पाले जानकारी दिए । जीप दुर्घटनामा परेर आफ्ना कर्मचारी घाइते भएको सूचना पाए लगत्तै अध्यक्ष शेर्पा घाइतेहरुको उद्दारको व्यवस्थाका लागि तत्कालै पाँचथरका प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री नेम्बाङ्गलाई भेट्न पुगेका थिए । मन्त्री नेम्बाङ्गले आवश्यक समन्वय गरीदिएपछि तत्कालै उद्दार भएको हो ।