३६ अर्बको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?


२०७७ असार २८ आइतबार १०:५६ बजे

काठमाडौं, २८ असार । उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६–७७ का लागि रु ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ । यही असार २१ गतेसम्म २१३ उद्योगमा रु ३५ अर्ब ९४ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन् ।

विभागका प्रवक्ता विनोदकुमार खड्काका अनुसार गत वर्षको तुलनामा उद्योगको संख्यामा कमी आएता पनि लगानीमा वृद्धि भएको छ । उनका अनुसार गत वर्षको तुलनामा असार २१ गतेसम्म रु १० अर्ब २७ करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आइसकेको छ । गत वर्ष ३४४ वटा उद्योगमा रु २५ अर्ब ४७ करोड लगानी प्रतिबद्धता आएको थियो ।

कुन क्षेत्रमा कति लगानी ?

चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिए ।

उनका अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि रु दश अर्ब ६५ करोड, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि रु नौ अर्ब ७१ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० करोड ८१ लाख प्रतिबद्धता आएको छ ।

यसैगरी ऊर्जा क्षेत्रका छ उद्योगमा रु ५२ करोड ७४ लाख, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि र रु चार करोड ४७ लाख बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ ।

२७२ स्वदेशी उद्योग दर्ता

यही असार २२ गतेसम्म उद्योग विभागमा २७२ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार उक्त उद्योगमा रु एक खर्ब ४६ अर्ब ७० करोड कुल पूँजी रहने गरी उद्योग दर्ता भएका छन् । गत आवमा विभागमा ४४१ उद्योग दर्ता हुँदा रु दुई खर्ब ८५ अर्ब कूल पूँजी रहने गरी दर्ता भएका थिए । गत वर्षको तुलनामा उद्योग दर्ता संख्याको तुलनामा लगानीमा वृद्धि भएको छ ।

विभागको तथ्याङ्कअनुसार सरकारले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीको अवधिमा ३६ उद्योगमा रु छ अर्ब छ करोडभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी चालू आवमा विदेशी लगानीमा रहको उद्योगले १० हजार ७२४ जनालाई र स्वदेशी उद्योगले १७ हजार १७१ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७