चितवन, १५ माघ : युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएलमा अनुबन्ध भएको खबरले उनको गृहनगर चितवनमा खुसियाली छाएको छ । सन्दीपको सफलताको कामना गर्दै उनका साथीहरू, क्रिकेटप्रेमी तथा प्रशिक्षकले दीप प्रज्ज्वलन गरेका छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा दीपेन्द्र अधिकारीले लेखेका छन् । पुबुदु आउनु नै भाग्य
दुई वर्षअघि नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुद दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले यहाँ प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र व्याटिङ अवलोकन गरे । पुबुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए ।
तत्कालै उनले चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानलाई सन्दीपमा बलिङ क्षमता रहेको भन्दै काठमाडौं पठाउन अनुरोध गरे । लगत्तै केही दिनको तयारीपछि सन्दीप राष्ट्रिय क्रिकेट टिममा अटाए । सन्दीपका लागि त्यो समयमा पुबुदु आउनु नै भाग्य कोरिएजस्तै बन्यो ।
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा १४ वर्षीय सन्दीपले देखाएको असाधारण प्रतिभालाई मध्यनजर गर्दै पुबुदुले काठमाडौंसम्मको यात्रा तय गराएका हुन् । खेल मैदान अभाव र सीमित स्रोत–साधनको भरमा आफ्ना खेलाडी अन्तर्राष्ट्रियस्तरमा पुग्दा निकै खुसी लागेको संघका अध्यक्ष कैलाश प्रधानले बताए । ‘क्रिकेट मैदान र अन्य साधन–स्रोत हुने हो भने हामी थुप्रै सन्दीप उत्पादन गर्न सक्छौँ,’ उनले भने, ‘राज्यले क्रिकेटमा राजनीति नगरी लगानी गर्न अग्रसर हुनुपर्यो ।’
चर्चामा सन्दीप
दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेपछि लेगस्पिनर सन्दीप अन्तर्राष्ट्रिय मिडियाहरूको नजरमा परेका थिए । यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध पाँच विकेट लिँदै २७ रनको खर्च निकालेका थिए । अन्तर्र्रािष्ट्रय मिडियाले नै सन्दीपलाई अस्ट्रेलियाली महान् क्रिकेटर सेन वार्नसँग तुलनासमेत गरे ।
अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिबियाविरुद्ध थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यु गरेका थिए ।
समाचार सुन्दा पत्याउनै सकिनँ : प्रशिक्षक खड्का
सन्दीप आइपिएलमा अनुबन्ध भइरहँदा उनका पूर्वप्रशिक्षक राजु खड्का नारायणगढ क्याम्पाचौरमा खेलाडीहरूलाई अभ्यास गराइरहेका थिए । त्यही मैदान जहाँ सन्दीपले प्रशिक्षण गरेका हुन् । खड्काको अनुहारमा आइतबार केही चमक र खुसी देखिन्थ्यो । उनी सन्दीपका पहिलो क्रिकेट गुरु हुन् ।
तीन वर्षअघि सन्दीप क्रिकेट खेल्नकै लागि भनेर खड्काको सम्पर्कमा आएका थिए । हालको नवलपुर जिल्ला रजहरमा दिदीको घरमा बस्ने सन्दीप दैनिक २० किमि आउजाउ गर्थे । भारतीय रेल्वेमा कार्यरत बाबुसँगै भारतमै हुर्केका सन्दीपले ब्याट र बल समाउन उतै सिकेका हुन् । आफूले सिकाएको चेला विश्व क्रिकेटको चर्चित प्रतियोगिता आइपिएलमा अनुबन्ध हुँदा सुरुमा पत्याउनै नसकेको खड्का बताउँछन् ।
‘उनको क्षमता बलिङमै थियो,’ १२ वर्षदेखि चितवन क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षण गराइरहेका खड्काले भने, ‘निकै मिहिनेत गरेका थिए, आज सफल पनि भए ।’ यसै प्रशिक्षण केन्द्रमा खड्काले नौजना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरिसकेका छन् ।
आफूलाई प्रमाणित गर्न सन्दीपलार्ई चुनौती
गत वर्ष मात्र आइपिएल क्लब सनराइजर्स हैदरावादले अफगानी लेगस्पिनर रसिद खानलाई चार करोड मूल्यमा खरिद गर्दै तरंग फैलाएको थियो । रसिदले पहिलो वर्ष नै आफूलाई प्रमाणित गर्दा २०१८ सेसनका लागि नौ करोड मूल्य पाएका छन् ।
उनलाई किंग्स इलेभेन पन्जाबले खरिदको प्रयास गरेको थियो, तर हैदरावादले राइट टु म्याच कार्डको प्रयोग गर्दै आफूसँगै राख्यो । रसिद कति महत्वपूर्ण खेलाडी बनिसकेका छन् भन्ने अक्सनमा भएको खोसाखोसबाटै प्रमाणित हुन्छ ।
सन्दीपलाई अब रसिद बन्ने मौका छ । २१ जना खेलाडी रहेको क्लबबाट प्लेइङ ११ मा पर्नु नै पहिलो चुनौती हुनेछ । यसो भएमा उनको क्रिकेट करिअरको अर्को अध्याय सुरु हुनेछ । मैदानमा राम्रो प्रदर्शन गर्न सके उनी एसोसिएटेड देश र भावी पुस्ताको नजरमा समेत आदर्श बन्न सक्नेछन् ।