प्रहरीकै सेटिङमा क्यासिनोमा नेपालीको लर्को


२०७४ माघ १४ आइतबार ०२:१६ बजे
काठमाडौं, १४ माघ : विगतमा क्यासिनोमा नेपालीको प्रवेशका कारण करोडपतिहरु एकै रातमा रोडपति भए । काठमाडौंमा करोडौंको महल भएकाहरु एकै रातमा डेरामा बस्ने अवस्थामा पुगेपछि सरकारले क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाएको थियो । तर, अहिले पुनः क्यासिनोमा नेपालीहरू प्रवेश गर्ने क्रम बढेको छ । काठमाडौं बाहिरका मिनी क्यासिनोहरुमा नेपालीहरूको लर्को लाग्न थालेको छ ।काठमाडौं बाहिर नेपालगंज, बीरगंज, भैरहवामा भारतीय सीमा नजिक मिनी क्यासिनो संचालनमा छन् । सीमा क्षेत्रमा खोलिएका यी क्यासिनो सरकारलाई राजस्व नै नतिरी अदालतको अन्तरिम आदेशका भरमा संचालन हुँदैआएका छन् ।  क्यासिनो नियमावली २०७० ले क्यासिनो दर्तामा कडाई गरेपछि अदालतको अन्तरिम आदेशका भरमा संचालित हुँदै आएका छन् । कानुनले अवैध भनिए पनि विगतमा क्यासिनो सञ्चालकहरूले प्रहरीलाई मासिक रकम दिँदै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाउँथे । धेरै नेपालीहरूले क्यासिनोमा जुवा खेली घर–सम्पत्ति नै गुमाएका, पारिवारिक सम्बन्धसमेत बिग्रिएका घटनाहरू बढ्दै गएपछि प्रहरीले क्यासिनोहरूमा नेपालीहरूको प्रवेशलाई कडाइमात्रै गरेन कि त्यसरी प्रवेश गराउने क्यासिनो सञ्चालकहरूलाई समेत कारबाहीको दायरामा ल्याउन थालेपछि नेपाली प्रवेशमा कमी आएको हो । तथापि उपत्यकाका कतिपय क्यासिनोहरूमा अहिले पनि छिटपुटरूपमा नेपालीहरू प्रवेश गराई जुवा खेलाउने कार्य भइरहेको छ । केही दिनअघिमात्रै माजोङ क्यासिनोमा १९ जना नेपालीहरू पक्राउ परेको घटनाले यस कुरालाई पुष्टि गर्दछ । उपत्यकाबाहिर सञ्चालित मिनी क्यासिनोहरूमा पनि नेपालीहरूको प्रवेश भइरहेको छ । वीरगञ्जको आदर्शनगरमा रहेको राजु पराजुलीले सञ्चालन गरेको सुरज होटेलमा सञ्चालित मिनी क्यासिनोमा नेपालीको प्रवेश व्यापकमात्रामा हुन थालेको छ । नक्कली आइडी बनाएर यसरी नेपालीहरू प्रवेश गराई जुवा खेलाउने काम भइरहेको छ । मिनी क्यासिनो सञ्चालकले वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिश कर्णलाई मासिक एक लाख घुस रुपैयाँ दिएर नेपालीको प्रवेशलाई सहज गराउँदै खुल्लमखुला जुवा खेलाउने गरेको आरोप छ । यो कुरा जिल्ला प्रहरीदेखि २ नम्बर प्रदेशको प्रहरी मुख्यालयमा समेत जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको व्यापारीहरूले बताउन थालेका छन् । नेपालीहरूको प्रवेश भएसँगै धेरै व्यापारीहरूले क्यासिनोमा गई लाखौँलाख हार्ने गरेका कारण त्यसको असर व्यवसायमा समेत देखिन थालेको व्यापारीहरू बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७