संक्रमितसँगै राखेको भन्दै दैलेखमा क्वारेन्टिनमा बस्दै आएकाहरू भागे
![](https://www.nayapage.com/wp-content/uploads/2020/06/narayan-secondary-school.jpg)
दैलेख, १९ जेठ । कोरोना संक्रमण पुष्टि भइसकेकाहरुसँग आफूहरुलाई राखिएको भन्दै दैलेखमा भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु भागेका छन् ।
दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु आज (सोमबार) आफू असुरक्षित भएको भन्दै भागेका हुन् ।
१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । दुई दिन अघि नै कोरोना संक्रमण पुष्टि भइसकेकाहरुसँग आफूहरुलाई राखिएको भन्दै उनीहरु भागेका हुन् ।
दुई दिनअघि संक्रमण पुष्टि भएका १७ जना पनि सोही क्वारेन्टिनमा छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ । योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ ।
दैलेख प्रहरीले भने क्वारेन्टिनबाट भाग्न खोजेकाहरुलाई फेरि क्वारेन्टिनमै फर्काइएको जनाएको छ । हाल नारायण नगरपालिकामा मात्रै भारतबाट मजदुरी गरी फर्किएका १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकाले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ ।
पछिल्लो समय दैलेखमा स्थापना भएका क्वारेन्टिनलाई लिएर विभिन्न आलोचना भइरहेका छन् । संक्रमितलाई क्वोन्टिनबाट निकालेर भैंसी गोठमा राखिएको भन्ने खबर सार्वजनिक भएपछि क्वारेन्टिन व्यवस्थापनप्रति आलोचना भइरहेको छ ।