भुल्केसहित आठ स्थान कोरोनाको ‘डेन्जर जोन’ मा, ‘हटस्पट’ मै परीक्षणका लागि ‘किट’ अभाव

उदयपुर, ११ बैसाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको रूपमा देखिएको छ ।
स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका मुस्लिमको उठबस तथा आवतजावत यी अन्य आठ स्थानमा सम्बन्धित क्षेत्रका मुस्लिमसहित अन्य समुदायसँग पनि हुने गरेका कारण स्वास्थ्य कार्यालय उदयपुरले यी आठ स्थानलाई ‘डेन्जर जोन’ मा राखेको हो ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा नगरपालिकाको भुल्केपछि यी आठ स्थान क्षेत्र आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले यी क्षेत्रलाई तत्काल डेन्जर जोनमा रोखेको प्रमुख चौधरीले बताए ।
शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोनाको सङ्क्रमण देखापरेपछि भुल्केका अन्य मुस्लिमहरुमा पनि कोरोनाको सङ्क्रमण सर्दै गएका कारण अहिले भुल्केमा १२ भारतीय नागरिकसहित १६ स्थानीय मुस्लिममा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण सम्बन्धित क्षेत्र समेत अहिले कोरोनाको डेन्जर जोन बनेको स्वास्थ्य कार्यलयका पदाधिकारी बताउँछन् ।
यस विषयमा उदयपुरबाट प्रदेश १ का प्रदेशसभा सदस्य बिमल कार्की, नारायण बुर्जा र अम्बिका थापासँग जानकारी माग्दा आफूहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेको र प्रदेशले जिल्लाका सबै स्थानमा स्वाब नमूना सङ्कलन र परीक्षणको पहल गरिरहेको बताए ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द राई र बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले पनि जिल्लाको भुल्केबाहेक ती क्षेत्रमा तत्काल प्रदेश सरकार र सङ्घीय सरकारले सम्बन्धित क्षेत्रका स्थानीयवासीमा कोरोनासम्बन्धी स्वाब सङ्कलन र जाँच र परीक्षणका लागि चाँडोभन्दा चाँडो उचित व्यवस्था गर्न माग गरेका छन् ।
समयमै यी स्थानका बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण नगरे जिल्लामा झनै कोरोनाको सङ्क्रमण तीव्ररूपमा फैलन सक्ने र सबै जिल्लावासी प्रभावित हुनसक्ने अवस्था आएको जिल्लाका जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज तथा स्थानीय बासिन्दा बताउँछन् ।
भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले यी सबै स्थानमा प्रहरी परिचालन गरिएको र गाउँलेलाई अन्यत्र जान र अन्यत्रबाट सम्बन्धित गाउँमा प्रवेश गर्न रोक लगाएर प्रहरी प्रशासनले निगरानी शुरु गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केगाउँमा बुधबार चार व्यक्ति कोरोनाबाट थप सङ्क्रमित भएको पुष्टि भएपछि सङ्क्रमितको संख्या २८ पुगेको छ ।
अब त्रियुगा नगरपालिकाको भुल्केस्थित एउटै मुस्लिम टोलमा १२ भारतीय मुस्लिम नागरिकसहित भुल्केका १६ मुस्लिम नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
किट नहुँदा रोकियो परीक्षण
नेपालमा कोरोनाको ‘हटस्पट’ बनेको उदयपुरको भुल्केमा किट अभाव हुँदा कोरोना परीक्षण तीब्र रुपमा हुन सकेको छैन ।
भुल्के क्षेत्रमा र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किट पुग्न नसक्दा परीक्षण प्रभावित भएको छ । त्यहाँ आज किटलगायत स्वास्थ्य सामग्री बोकेर प्रदेश सरकारको टोली पुग्ने जनाइए पनि यो समाचार तयार गर्दासम्म उक्त टोली भुल्के पुगेको छैन ।
‘आज किटसहित प्रदेशको टोली आउने कुरो छ,’ उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढामगरले भने, ‘अहिलेसम्मको संकलन सूची हेर्दा परीक्षण गर्नैपर्नेमा २ सय भन्दा बढी छन्, तर परीक्षण गर्न किट छैन ।’
पीसीआर परीक्षणका लागि यसअघि स्वाब संकलन गरिएका ३२० जनाबाहेक यो अर्काे दुई सय जनाको सूची तयार पारिएको एसपी मगरले जानकारी दिएका छन् । भुल्केमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २७ जना छन् ।