प्रचण्डलाई एकता सुढृढीकरणका लागि पहल लिन नेताहरुको सुझाव, यस्तो रहेछ अध्यादेशको रहस्य


२०७७ बैशाख १० बुधबार ०६:१४ बजे

काठमाडौं, १० बैसाख । सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तब्य , अधिकार र कार्यविधि) सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगराई ल्याएपछि नेकपाभित्र नेताहरूबीच कित्ताकाट र धुव्रीकरण बढेको छ ।

जसकाकारण सत्तासिन दल नेकपा विभाजनसम्म पुग्नसक्ने आशंका हुन थालेपछि दाहाललाई पार्टी नेताहरूले त्यस्तो आग्रह गरेका हुन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्ध मुलुक लकडाउनमा रहेको र आफू पक्षधर नेताहरूको संयुक्त छलफल चलाउँदा गुटबन्दीको आरोप लाग्ने देखिएपछि अध्यक्ष दाहालले आफू निकट नेताहरूसँग विकसित राजनीतिक घटनाक्रममा विषयमा अलग–अलग छलफल मंगलबार दिनभर जसो गरिरहे ।

आफ्नै निवास खुमलटारमा दाहालले मंगलबार स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, जर्नादन शर्मा, केन्द्रीय सदस्य ओनसरी घर्तीलगायतका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

‘उहाँ (दाहाल) ले बोलाएर होइन, अरु साथीहरू के हो थाहा भएन, म चाहीँ विकसित घटनाक्रम के रहेछन् भनेर बुझन खुमलटार पुगेको थिए,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘अध्यक्षलाई पार्टी एकता सुढृढ गर्ने र पार्टीलाई थप एकताबद्ध बनाउनका लागि भूमिका खेल्नुहोस भन्ने सुझावमा कुराकानी गरेँ, उहाँले पनि त्यसैगरी भूमिका खेल्नुहुन्छ ।’

प्रधानमन्त्री ओली पार्टीभित्र अप्ठ्यारोमा परेको र सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्म अल्पमतमा परेपछि आफू सुरक्षित रहन र आवश्यकता पर्दा पार्टीभित्रका आफू इतरका नेताहरूलाई ‘तर्साउन’ का लागि पनि अध्यादेशको साहरा लिन पुगेको बुझाइमा पूर्व माओवादी धारका नेताहरू देखिएका छन् ।

दाहालसँग अलग–अलग भेट गरेको नेताहरूले प्रधानमन्त्री ओलीले चाल्ने आगामी कदमबाट सचेत र सजग रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै अध्यक्ष दाहाललाई भूमिका खेल्न सुझाएका छन् ।

दाहालसँग भेट गरेका नेताहरूकाअनुसार प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश देखाउँदा मधेसवादी (समाजवादी र राजपा) का विरुद्ध जस्तो देखिए पनि रणनीतिक रूपमा आफ्नै पार्टीभित्रै लक्षित छ । दाहालले पनि आफूलाई भेटन आएका नेताहरूलाई सोही आधारमा ब्रिफिङ गरेका थिए ।

पार्टीभित्र छलफल गरी राष्ट्रिय महत्वका विषयमा सरकारले निर्णय लिनुपर्नेमा ओलीले अघि–अघि सरकार र पछि–पछि पार्टी बनाउने गरी निर्णयहरू लिन थालेको विषयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सचिवालयका नेताहरू सन्तुष्ट थिएनन् । खासगरी सभामुख चयन प्रकरण, एमसीसी प्रकरण, वामदेव गौतमलाई राष्ट्रियसभा लैजानेलगायत पार्टी निर्णयमा देखिका कतिपय विषयमा ओली अल्पमतमा छन् ।

दुई वर्षे पार्टी एकताको अवधिमा करिव ढेड वर्षसम्म आफू अनुकल निर्णय गराउँदै आएका ओलीले पछिल्ला ६ महिनायता पार्टीमा आफूले चाहेअनुसारका एउटै निर्णय गराउन सकिरहेका छैनन् । ‘यही अप्ठ्यारोकाबीच ओलीले पार्टीमा आफ्नो सहजताका लागि वरिष्ठ नेता माधव नेपाललाई फकाउने पहिलो चरणको योजना बनाएका थिए ।

दोश्रो चरणमा पूर्व माओवादी धारका नेताहरू रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई फकाउने रणनीतिमा ओली देखिएका थिए,’ माओवादी धारका अर्का एक स्थायी समितिका सदस्यले भने, ‘माधव कमरेडलाई लामो प्रयास गर्दा पनि फकाउन सक्नुभएन, थापा सरकारमै सहभागी भएकाले तत्कालका काममा उनीसँगै देखिए पनि रणनीतिक योजनामा साथ छैनन् । श्रेष्ठ पनि ओलीसँग सहमत नदेखिएपछि उहाँले अर्काे स्टाटेजीका रूपमा अध्यादशेको सहारा लिन पुग्नुभएको देखिन्छ ।’

मंगलबार दाहालसँग भेटेका एक पूर्व माओवादी धारका स्थायी समिति सदस्यले भने, ‘यो बीचमा ओलीले माधव नेपाललगायत एमालेका पूराना नेताहरूलाई घन्टौं छलफल गरेर प्रयास गरेकै हुन् ।

त्यो प्रयास सफल नभएपछि दुई तिहाई बहुमत रहेको सरकारले ४० प्रतिशतको विषय अध्यादेशमार्फत लिएर आउनु भयो ।’ पार्टीभित्रै आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन खोजेको सूचना पाएपछि हतारमा यस्तो निर्णयमा ओली पुगेको हुनसक्ने अनुमान समेत नेकपा नेताहरूको देखिन्छ ।

‘सुरुको चरणमा पार्टी नेताहरूलाई अध्यादेश देखाएर तर्साउने कुरा स्वतः हुने भयो । तर, घटनाक्रम हेर्दा तर्साउनका लागि मात्र नभई कार्यान्वयनमै लैजाने गरी अध्यादेश योजनामा अगाडि ल्याएको हुनसक्ने देखिन्छ,’ पछिल्लो राजनीतिक घटनाक्रममा दाहालको ब्रिफिङ सुनेका स्थायी समितिका ती नेताले भने ।

प्रधानमन्त्रीले मिलाउन सकेको भए यो अवस्थै आउँदैन थियो

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललाई मिलाउन सकेको भए अहिलेकै अवस्थामा पूर्व माओवादीलाई कारबाही गरेर सिधै हटाई दिनसक्ने थिए । तर, त्यसमा सफल नभएपछि अध्यादेशको सहारा लिएको हुनसक्ने वुझाई पूर्व माओवादी धारका नेताहरूको छ । ओली माओवादी धारका नेताहरू पार्टीबाट निस्के पनि निस्किउन् भन्ने तिर सोँचेरै अगाडी जान खोजेको पूर्व माओवादी धारमा बुझाइ छ ।

त्यसो हुँदा पूर्व एमाले धारलाई नै ब्यूँताउने योजनामा प्रधानमन्त्री रहेको उनीहरूको ठम्याइ छ । त्यसो गर्दा ओलीसँग टाढिँदै जान थालेका नेताहरू झलनाथ खनाल र माधव नेपाललाई पनि प्रेसर पर्ने र एमाले धारतिरै आउने वातावरण ओलीले बनाउन खोजेको देखिन्छ ।

तर पनि पार्टीमा आफूलाई अप्ठ्यारो नै पारिरहे भने संसदमा रहेका आफ्ना सांसदहरू ४० प्रतिशत लिएर आफ्नो स्पेस सुरक्षित बनाउने योजनासम्ममा ओली जानसक्ने आंकलनमा पनि पूर्व माओवादी धारका नेताहरू छन् । अन्नपूर्ण पोष्टबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७