पूर्व तयारी तीव्र : हजार आइसोलेसन बेड
सिन्धुली, ७ चैत । सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ ।
कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्व तयारी गरिएको हो । उपत्यकामा १ सय २० वटा सघन उपचार कक्ष (आईसीयू) बेड तयारी अवस्थामा छ । उपत्यकाबाहिर पनि सोहीअनुसारको तयारी गर्न सरकारले निर्देशन दिएको छ ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाइएको बताए । उनले भने, ‘तीनै तहको सरकारको सहकार्य राम्रो विन्दुमा छ । सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित तहमा राख्न सक्छौं ।’
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन रोकथामका उपाय अपनाइएको बताए । मुलुकभरका सबै अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण भइरहेको उनले बताए ।
उनका अनुसार स्वदेशी एवं विदेशी विज्ञसँग परामर्श गरी रोकथामको उपाय र भविष्यमा आउने चुनौती सामना गर्न पूर्वतयारी भइसकेको छ । कोरोना भाइरस परीक्षणका लागि सम्बन्धित चिकित्सकको सिफारिस चाहिने उनले प्रस्ट पारे ।
पछिल्लो समय पर्ख र हेरको अवस्थामा रहँदारहँदै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्थामा पुगेको डा. खतिवडाले बताए । डब्लूएचओले नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोनाको उच्च जोखिम रहेको बिहीबार जनाएको थियो । डब्लूएचओको दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रपाल सिंहले संक्रमणबाट बचाउने प्रयास गर्नुपर्ने बताएकी थिइन् ।
संक्रमणको प्रभाव पर्न सक्ने जनाएपछि शैक्षिक संस्था बन्द गर्नुपरेको सरकारले स्पष्ट पारेको छ । मन्त्री खतिवडाले दीर्घकालीन असर नपरोस् भन्ने हेतुले शैक्षिक संस्था बन्द गरिएको जानकारी दिए । उनले भने, ‘ अभिभावकले पनि विद्यार्थीलाई किन जोखिममा राख्ने भन्ने दबाब दिएको विषय पनि मनन गर्यौं ।
नागरिक समाजका प्रबुद्ध व्यक्तिले पनि परीक्षा सार्दा के बिग्रन्थ्यो भन्ने कुरा राख्नुभयो । जोखिममा विद्यार्थीलाई किन राख्ने भन्ने भएपछि केही समयका लागि परीक्षा स्थगित गरिएको हो ।’ अन्नपूर्ण पोष्टबाट