गाडेकै ठाउँबाट निकालियो बालकको शव, मृत्यु शंकास्पद देखिएको भन्दै पोष्टमार्टम


२०७६ फाल्गुण ६ मंगलबार २०:२५ बजे

नवलपरासी, ६ फागुन । पश्चिम नवलपरासीको परासीमा एक बालकको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले गाडिसकेको शव निकालिएको छ । निकालिएको शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।

नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इङ्लिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको शव प्रहरीले पोष्टमार्टमका लागि पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बालकको मृत्यु शंकास्पद भएपछि शव पोष्टमार्टका लागि काठमाडौंस्थित टिचिङ्ग अस्पताल पठाएको जानकारी दिएका छन् । आइतवार मृत्यु भएका बालकको शव पोस्टमार्टम नगरी खोला किनारामा लगि गाडिएको थियो भने प्रहरीले पुनः शव निकालेको हो ।

गएको शुक्रबार विहान स्वस्थ रुपमा विद्यालय आएका बालक पासवान एक्कासी विरामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो । विद्यालयले विद्यार्थी पहिलादेखि नै विरामी रहेको जनाउँदै आएको छ भने बालकका आफन्तले भने बालकको विद्यालयमा भएको कुटपिटबाट निधन भएको दावी गरेका छन् । बालकका पिता बैजनाथ पासीले विद्यालयमा कुटपिटबाट बालक घाइते भएको दावीको गरेका छन् ।

बालकको उपचारको लागि शुरुमा जिल्ला अस्पताल लगिएको भए पनि उक्त अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान रिफर गरेको थियो । त्यसपछि उनलाई भैरहवा लगिएको थियो भने त्यहाँबाट पनि चिवतन मेडिकल कलेज पठाइएको थियो ।

बालकको आइतबार राति मृत्यु भएको हो । बालकका पिता बैजनाथ पासीले कक्षा एकमा पढाउने क्रममा शिक्षिकाले वालकको हातमा पिट्न खोज्दा गल्तीले टाउकोमा लागेको र वालकले कक्षा कोठामा नै वान्ता गरेको दावी गरेका छन् ।

विद्यालय प्रशासनले भने बालक पहिलादेखि नै विरामी रहेको र कक्षाका पढाउने क्रममा वालकले वान्ता गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जनाएको छ । विद्यालयका कारण बालकको मृत्यु नभएको स्कूलका प्रधानाचार्य राधेरमण पाण्डेले बताएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न शव पोष्टमार्टमका लागि पठाएको र घटनाको छानवीन गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाको अनुसन्धान भईरहेको र केही दिनमा पोष्टमार्टम रिपोर्ट आएपछि थप भन्न सकिने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७