मुख्यमन्त्रीको शपथपछि केजरीवालले भने, ‘चुनावमा मलाई मनलाग्दी भन्नेहरुलाई पनि माफी’

नयाँदिल्ली, ४ फागुन । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले अन्ना हजारेसँगै भ्रष्टाचारविरोधी अभियान शुरु गरेको रामलीला मैदानमा शपथ लिएका छन् ।

दिल्लीका उपराज्यपाल अनिल बाजपेयीले केजरीवालका साथै मनिष सिसोदिया, कैलाश गेहलोत, सत्येन्द्र जैन, गोपाल राई, इमरान हुसेन र राजेन्द्र गौतमलाई पनि शपथ खुवाएका छन् ।
‘आज तपाईंहरुको छोराले मुख्यमन्त्रीको शपथ लिएको छ । यो विजय मेरो होइन, दिल्लीका प्रत्येक व्यक्ति र प्रत्येक परिवारको विजय हो,’ उनले भने, ‘तपाईंहरुको जीवनमा खुशी ल्याउने हाम्रो प्रयास गत पाँच वर्ष जारी थियो, आगामी पाँच वर्ष पनि जारी रहने छ ।’
‘म सबैसँग मिलेर काम गर्न चाहन्छु। चुनावका बेला खुब राजनीति भयो । तर, अब चुनाव सकिइसक्यो । त्यसबेला विपक्षीले हामीविरुद्ध मनलाग्दी भने पनि मैले उनीहरुलाई माफ गरिदिएँ,’ उनले थपे ।
केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् । १४ फेब्रुअरीमा शपथ समारोह आयोजना हुने भनिएको थियो । तर, पुलवामा ४० जवानको ज्यान जानेगरी आतंकवादी हमला भएको दिन परेकाले शपथ सारिएको हो । एजेन्सी