राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव : प्रदेशको अस्थायी मुकाम तोक्नुहाेस्
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवास प्रधानमन्त्री शेर बहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।
वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने सरकारकाे तयारी छ ।
उनले सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गर्दे प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउन आग्रह गरिन् । उनले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । यस्तै भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए ।सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।