सत्य निरुपणमा ‘राष्ट्रिय सहमति’ : ओली, प्रचण्ड र देउवाको एउटै मत


२०७६ माघ ३ शुक्रबार ०४:१७ बजे

काठमाडौँ, ३ माघ :  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ । यसमा तीनै शिर्ष नेता एकमत देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको उहाँहरुबीचको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले जानकारी दिए ।

‘विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ', उनले भने, ‘त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने भन्दै सजिलै समधान हुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीले जस्तै यसलाई जटिल बनाउन नहुने बताए । नेकपा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषय भएकाले यसलाई चाँडै हल गरिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताए ।

छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, काँग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी थिए । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन । जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७