जलपंक्षीको गणना गरिंदै, तीन सय बढी जनशक्ति परिचालित हुँदै


१७:४५ बजे

काठमाडौं, १७ पुस । यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलार्धबाट दक्षिणी  गाेलार्धमा बसाइँसराइ गर्छन् ।

एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भू–भागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् ।

यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्याको अध्यावधि गर्न शनिबारदेखि जलपंक्षीको गणना गरिँदैछ । यही पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म हुने जलपंक्षी गणनामा विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, र सरकारी प्रतिनिधिलगायत गरी ३०० भन्दा बढी जनशक्ति परिचालन हुने बताइएको छ । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपंक्षी भनिन्छ ।

स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धि समेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए ।

‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा स्वयंसेवीरूपमा यो गणना हुन लागेको हो । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपंक्षी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ ।

वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपंक्षी गणना हुने भएकाले विश्वभरकै जलपंक्षीको संख्या आंकलन हुने उनले बताए । यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ ।

नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् । गणनाको विवरण वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाइने र सार्वजनिक गरिने डा. बरालले बताए ।

सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपंक्षीका प्रजाति, तिनको संख्या, सङ्कट र वासस्थानमा देखिएका समस्या जस्ता जानकारी अभिलेख गरिने छ । विभागले जलपंक्षी गणनामा सहयोग पुर्‍याउन मुलुकभरका संरक्षित क्षेत्रका प्रमुखलाई परिपत्र गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

गणनामा संलग्न संस्था नेपाल पंक्षी संरक्षण सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् ।

खासगरी उत्तरी धु्रवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्षेनी करिब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चरा सिमसार क्षेत्रमा नै आफ्नो समय व्यतीत गर्दछन् । पाहुना चराको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले बताए ।

चराको बसाइँसराइ मौसमअनुसार फरक–फरक हुन्छ । हिउँदे यामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ । ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ । हिउँदे याममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन् ।

चराकोे हिउँदे यामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुने गर्छ । हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन् ।

संरक्षण अधिकृत भुसालका अनुसार जलपंक्षी पछिल्ला वर्षमा खासगरी सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले विस्थापित हुँदै गएका छन् ।

बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम हुन्छ । तसर्थ जलपंक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पंक्षी संरक्षणकर्मीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७