राजदूत कार्कीको म्याद थप्दै मन्त्रिपरिषदले गर्‍यो यस्ता नौ निर्णय (सूचीसहित)


०५:३४ बजे

काठमाडौं, २६ बैसाख । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यावधि थप गर्दै मन्त्रिपरिषदले विभिन्न नौं निर्णय गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि उनको कार्यावधि थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज नियमित पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै उनले विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त गरिएको जानकारी समेत दिएका छन् ।

सदस्यहरुमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वर कलवार, भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । विश्व बैंकले दिन लागेको १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोलिसी क्रेडिटका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर ऋण लिने निर्णय भएको जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहायताको रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ ।

२) संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूत श्री डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ ।

३) नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशन निर्माण गर्ने प्रयोजनका लागि प्राप्त गर्ने निर्णय गरिएको छ ।

४) विद्युत नियमन आयोगको अध्यक्ष पदमा श्री दिल्लीबहादुर सिंह तथा सदस्य पदमा श्री रामप्रसाद धिताल, श्री रामकृष्ण खतिवडा, श्री रामेश्वरप्रसाद कलवार र श्री भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

५) अध्यागमन नियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

६) विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्क अध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय गरिएको छ ।

७) विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ ।

८) हेटौंडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारणलाईन आयोजना (दोस्रो खण्ड) को राइट अफ वेभित्र विभिन्न सामुदायिक वनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रुखविरुवाहरू हटाउन स्वीकृति दिइएको छ ।

९) नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७