द्वन्द्वका बेला बेपत्ता प्रतापसिंह १७ बर्षपछि टुप्लुक्क घर पुगेपछि…
बझाङ, १४ बैसाख । आश मारिसकेको व्यक्ति अचानक घरमा टुप्लुक आइपुग्यो भने के होला । धेरै वर्षदेखि घरको सदस्य गुमाएको रोल्पाको एक घरमा एकाएक खुशीयाली छाएको छ ।
द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ बर्ष पछि घर फर्किएपछि घरका अन्य सदस्यलाई एकछिन त सपना हो कि विपना छुट्याउन समेत हम्मे पर्यो । ४–५ बर्षको उमेरमा सबै कुराको राम्रोसँग ज्ञान समेत नभएका रोल्पाका घर्तीलाई २०६०–२०६१ सालतिर तत्कालीन नेकपा माओबादीले घरबाट उनको दिदी मनकुमारीसँगै आफूसँग लिएका थिए ।
घर्तीकी दिदी मनकुमारीसहितलाई घरबाट नेकपा माओबादीले आफूसँग लगेपछि आफूले आफ्नो घरबार नै बिर्सिसकेको प्रतापसिहं घर्ती (काले) ले बताएका थिए । उनकी दिदी मन कुमारीको नेकपा माओबादी र नेपाली सेनाबीच भिडन्त हुँदा रोल्पाको लिबाङ्गबाट बेपत्ता भएकी थिइन् ।
दिदीको उमेर १४–१५ बर्षको हुँदा प्रतापसिंह घर्ती (काले) ४–५ बर्षका थिए । दिदीको बेपत्ता भएपछि उनी एक्लै भए । सानै उमेर भएका कारण उनी माओबादीबाट भाग्न सफल त भए तर उनले आफ्नो घर जाने बाटो पत्ता लगाउन सकेनन् । उनले आफ्नो गाँउ घरसम्म पुग्नका लागि धेरै कोशिस गरेको बताए । धेरैसँग हार गुहार समेत गरे ।
धेरैसँग घरसम्म पुर्याई दिन आग्रह गर्दा उनले जोसँग अनुरोध आग्रह गरे उनीहरुले उल्टै आफूहरुले पाल्ने र अफैसँग बस्न अनुरोध गरेको बताए । आफूले सबै कुराको आश मारे पनि घर जाने आशा भने नमारेको बताए ।
‘तत्कालीन माओबादीबाट भागेपछि कहिले सडक पेटीमा, कहिले बीच जङ्गगल जहाँ पायो त्यहीं सुत्दै सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थालें’, उनले भने, ‘पछि अलि ठूलो भएपछि कसैको होटेलमा भाँडा माझेर, कसैको भारी बोकेर, कसैको जीप बसमा खलाँसीको काम गरेर एक छाक खाने र एकसरो कपडा लगाउने कोशिस गर्न थालें ।’
मजदुरीको काम गर्दा गर्दै बझाङको खप्तड छान्ना गाँउपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो । अध्यक्ष रोकायाले उनको बारेमा जानकारी लिन खोज्दा यो कुरा बाहिर आयो । खोजी गर्दै जाँदा उनी रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ जबाङ गाउँका भएको पत्ता लागेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
उनलाई गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट घरसम्म पु¥याई दिएका छन् । आफ्नो थर र गाउँको कुनै कुरा पनि याद नभएका प्रतापसिंह घर्ती (काले) लाई चिउरी घाँट खोला र आफ्नो गाउँ घरको सामान्य याद रहेको बताए । सोही आधारमा उनको घर पत्ता लागेको हो ।
गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई समेत यो विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला प्रशासन कार्यालय रोल्पामा समेत बुझ्न पठाए । विभिन्न मिडियामा समेत समाचार प्रकाशन भयो । खोजी गर्दै जाँदा अन्त्यमा उनको घर समेत पत्ता लाग्यो ।
उनका बुबा खलवीर घर्तीले छोराको आशा मारिसकेका थिए । ‘कुनै युद्धमा बममा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेर आशा नै मारिसकेका थियौँ, उनले भने, ‘छोरा जीवितै रहेछ हामीले छोराको खोजी त धेरै गरेका थियौँ । तर कतै पनि पत्ता नलागेपछि आशा नै मारिसकेका थियौ । धन्न छोरा जीवितै रहेछ ।’
सानो तोते बोली बोल्ने छोरा २०–२१ बर्षको भएर आफ्नो अघि उभिएको देख्दा बुबा मात्रै होइन छिमेकीसहित सबैका आँखा रसाएर आएका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिब शैलेन्द्र रोकायाले भने, ‘हामी घर्तीलाई उनकै घरसम्म पुर्याउन गएका थियौँ । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागत समेत गरे । सबैले युद्धकालमा नै मृत्यु भइसकेको भनेर आशा नै मारिसकेका रहेछन् ।’ घर्ती पनि आफ्नो जन्मभूमि पुग्दा बेस्सरी रोए समेत ।
‘खरले छाएको सानो झुपडीमा बसोबास गर्ने हामीहरुको अवस्था उस्तै छ’, घर्तीका बुबा खलवीर घर्तीले भने, ‘मरिसक्यो भनेर आशा समेत मारिसकेको छोरा घर फर्किएर आउदा कसलाई खुशी नलाग्ला र ? देश कहाँबाट कहाँ पुगी सक्यो ।
हामी जस्ता सर्वहाराका लागि लड्दै छु भन्ने माओबादीहरुले गर्दा । आफ्नो छोराबाट १७ बर्ष तड्पिनु पर्यो । छोरालाई कति गाह्रो भयो होला । घर्तीसँगै माओबादीले लिएकी उनकी दिदी मन कुमारी युद्धकालपछि बीचमै भागेर भारतमा विवाह गरेको उनका बुबा खलवीर घर्तीले जानकारी दिए ।