अज्ञात रोगले हुम्लामा आठ जनाको मृत्यु, दर्जनौं बिरामी


२०७६ बैशाख १४ शनिबार ०३:५२ बजे

हुम्ला, वैसाख १४ । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन् ।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिंदै गएको छ ।

रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् ।

वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए । मृत्यु हुनेको श्वास प्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ थियो ।

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोकथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।

अहिले रोग संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७