रसिद खानले अफगानिस्तानको टी-२० को नेतृत्व गर्ने

काबुल, चैत २२ । एजेन्सी अफगानिस्तान क्रिकेट बोर्डले तीनै फर्म्याटमा राष्ट्रिय टोलीका नेतृत्व गरिरहेका असगर अफगानलाई कप्तानबाट हटाएको छ। विश्वकप सुरू हुन दुई महिनाभन्दा कम समय बाँकी हुँदा शुक्रबार अफगानिस्तानले तीन फर्म्याटमा फरक-फरक खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ।

बोर्डका अनुसार अब गुल्बादिन नइबले एकदिवसीय, रसिद खानले टी-२० र रहमद शाहले टेस्ट क्रिकेटको कप्तानी सम्हाल्नेछन्।
त्यसैगरी एकदिवसीयमा रसिद खान, टी-२० मा सफिक्युल्लाह सफिक र टेस्टमा हसमतुल्लाह साहिदीलाई उपकप्तान बनाइएको छ।
एक दिवसीयका कप्तान बनेका २८ वर्षीय नइबले इंग्ल्याण्डमा हुने विश्वकपमा अफगानी टोलीको नेतृत्व गर्नेछन्। नयाँ नियुक्त भएका तीन कप्तानमध्ये रसिद खानसँग मात्र यसअघि राष्ट्रिय टोलीलाई कप्तानी गरेको अनुभव छ। लेगस्पिन अलराउन्डर रसिदले अहिलेसम्म चार एक दिवसीय खेलमा अफगानिस्तानको कप्तानी सम्हालेका छन्।
शुक्रबार हटाइएका असगर सन् २०१५ मा मोहम्मद नावीको ठाउँ कप्तान बनेका थिए। उनको कप्तानीमा अफगानिस्तानले ३१ वटा एकदिवसीय र ३७ वटा टी-२० जित हात पारेको छ। यही वर्ष पहिलो टेस्ट (आयरल्याण्डविरूद्ध) जित्दा पनि असगर नै कप्तान थिए।