बेहोस बनाउने औषधि खुवाएर बालिकामाथि रातभर बलात्कार
मोरङ २९ फागुन । मोरङका एक युवकले ‘उपहार’ को प्रलोभनमा एक १३ बर्षीषा बालिकालाई बलात्कार गरेका छन् ।

मोरङको लेटाङ नगरपालिकी १३ वर्षीया बालिकालाई रातभर बलात्कार गरी फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि भागेर मिक्लाजुङ गाउँपालिकामा पुगेका उर्लाबारी नगरपालिका–३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
जेम्स क्षेत्री, रेगन तथा रेवत समेत भनेर चिन्ने युवकले लेटाङस्थित घरमै रहेकी बालिकालाई ‘गिफ्ट’ ल्याई दिएको छु भन्दै फोन गरेर कानेपोखरी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गको कानेपोखरी बजारमा बोलाएका थिए । कानेपोखरी आएपछि आचार्यले आफ्नै घर उर्लाबारी–३ स्थित थापा चोकमा लगेर रातभर बालिकामाथि बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रेडियो कार्यक्रममार्फत बालिका र आचार्यबीच चिनजान भएको थियो । त्यही चिनजानका आधारमा आचार्य गत शुक्रबार बालिकालाई भेट्न भन्दै लेटाङमै पुगेको र त्यही क्रममा दुई जनाबीच पहिलो भेटघाट भएको प्रहरीको भनाइ छ । तिमल्सिनाका अनुसार भेटघाट हुनसाथ आचार्यले बालिकालाई विभिन्न ठाउँमा घुमाउन लैजाने लोभ देखाएर आफूसँगै जान ललाई फकाई पनि गरेका थिए ।
‘बालिकाले नमानेपछि भोलिपल्ट शनिबार फोन गरेर ‘गिफ्ट’ ल्याइदिएको छु भन्दै आचार्यले कानेपोखरीमा बोलाएको अनुसन्धानका क्रममा खुलेको छ,’ तिमल्सिनाले भने, ‘कानेपोखरी बजारमा भेट भएपछि साथमा ‘गिफ्ट’ ल्याउन बिर्सिएको भन्दै आचार्यले आफ्नो मोटरसाइकलको पछाडि बालिकालाई राखेर उर्लाबारीस्थित घरमा ल्याएको खुलेको छ ।’
परिवारका सदस्य कोही पनि नभएको अवस्थामा बालिकालाई रातभर घरमै राखेर आचार्यले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । केही खानेकुरा मिसाएर पानीमा खान दिएपछि बालिका बेहोस भएको र त्यसपछि आचार्यले रातभर बलात्कार गरेको तिमल्सिनाले बताए । उनका अनुसार बलात्कारबाट पीडित भएकी बालिका मानसिक रुपमा विक्षिप्त छिन् ।
जतिबेला पनि चिच्याउने, रुने र कराउने मात्रै गर्ने गरेको प्रहरीले बताएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका आचार्यविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जवरजस्ती करणीको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।