निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट

काठमाडौं, २९ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी गरिएको छ ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको छ । एसपी बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामा अदालतले उपस्थित हुन एसपी बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो । तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भएका थिए ।
एसपी बिष्ट र डिएसपी जिसी अहिले पनि प्रहरी सम्पर्कमा नभएको जनाइएको छ । गइको बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन शुरु गरिएको थियो ।
डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइसकिएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् । उनका अनुसार उपस्थति सबैको बयान लिने काम सोमबार नै सकिएको छ । उनले भने, ‘डिल्ली बिष्ट र अंगुर जिसी उपस्थित नभएकाले उनीहरूको बयान भने लिन बाँकी छ ।’
श्रेष्तेदार अवस्थीले मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा सोमबार अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी भएको बताए । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले गत पुस ४ गते दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूमाथि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरेको थियो ।
प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन् । २०७५ साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएका बेला हराएकी निर्मलाको भोलिपल्ट नग्न अवस्थामा शव फेला परेको थियो ।