‘बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’


११:०४ बजे

काठमाडौं: ‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है‘’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए। बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिए।

चुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे। कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनको पछिल्तिर बूढानीलकण्ठ—२ का स्थानीय बासिन्दाको लर्को थियो। ‘दाइ तपार्इं हामी जसरी कुद्न सक्नुहुन्न होला। तपार्इं अरू मिलाउँदै गर्नुस् हामी अघि कुदौं’, मुटुका बिरामी लामिछानेतर्फ संकेत गर्दै उनले केही युवालाई संकेत गरे।

युवाहरूलाई पछि लगाउँदै पाइला बढाए। त्यसलगत्तै बीच बाटोमा बम विस्फोट भयो। घरदैलो अभियानमा निस्केका गगनका पाइला अन्य घाइतेसँगै शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोझिए।

बूढानीलकण्ठ—२ को महादेवकोलोनी नजिकै ५र६ घरमा पुगेर उनले भोट मागे। त्यसपछि भद्रबस्तीमा जाने योजनाअनुरूप उनले बुलेट ट्रेनकै गतिमा पाइला चाले। आफूलाई लक्ष्य गरी रिमोट कन्ट्रोलयुक्त बम राखिएको स्थान उनले पार गरेको केही सेकेन्डमै पड्कियो। उनको पछि÷पछि हिँडेका कार्यकर्ता विस्फोटमा परे। धुवाँ र धुलोको मुस्लो आकाशतिर उड्यो। ‘पछि —पछि एकरडेढ सय कार्यकर्ता र शुभेच्छुक थियौं होला’, स्थानीय कांग्रेस नेता लामिछानेले भने, ‘हत्तपत्त प्रहरीको कन्ट्रोल रुममा खबर गर्दै घटनास्थलतर्फ दौडे।’

घटनास्थलमा यत्रतत्र कार्यकर्ता लडेको देखेर गगनलाई सम्हालिन कठिन भइरहेको थियो। ‘आफ्ना मान्छे वरिपरि ढलेको देखेर होला’, गगन हडबडाएका थिए’, प्रत्यक्षदर्शी एक युवाले भने, ‘मलाई केही भएको छैन। घाइते साथीहरूलाई छिटो अस्पताल पुर्‍याऊँ भन्दै सहयोग गर्न अह्राए।’ उनलाई पनि बमका छर्राले चोट लागेको थियो। तर, आफूलाई केही नभएको बताउँदै घाइते कार्यकर्तालाई छिटो अस्पताल पुर्‍याउन निर्देशन दिए।

सुरुमा उनले आफूलाई केही नभएको बताउँदै सबैलाई आश्वस्त पार्न खोजे। तर, कानबाट भने रगत बाहिर आइरहेको थियो। ‘जब अरू घाइतेलाई अस्पताल पठाउने तरखर गरियो। त्यतिबेला अर्को गाडी आयो। गगनलाई पछि बसाउन खोज्दा बल्ल उसले दाइ म पछि बस्न सक्दिनँ। मलाई पनि चोट लागेको छ भनेर बोल्यो,’ स्थानीय अगुवा कार्यकर्ता लामिछानेले भने, ‘दाइ मलाई जोडले नछुनुस् भन्यो। त्यसपछि बल्ल हामीले उसको ढाड र कानमा बमको छर्राले चोट पुर्‍याएको थाहा पायौं।’

उनी असजिलो ढंगले गाडीको अघिल्लो सिटमा बसे। उनको कानको मासुको चोक्टो उडेको कार्यकर्ताले थाहा पाए।

त्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख प्राडा प्रतापनारायण प्रसादका अनुसार थापालाई ढाड र कानमा चोट लागेको छ। उनले भने, ‘ ढाडमा सुन्निएको छ। कानमा चोट लागेको छ। अवस्था सामान्य नै छ।’ नाक, कान र घाँटीरोग विशेषज्ञले कानको उपचार गर्दै टाउकोमा घुमाएर पट्टी बाँधेकै अवस्थामा उनी आकस्मिक कक्षमा रहेका घाइते कार्यकर्तालाई भेटी सम्पूर्ण उपचार गर्ने आश्वासन दिए।

उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनाबाट त्रसित भएर आत्मबल कमजोर नबनाउन आग्रह गरे। उनले अपिल गर्दै भने, ‘मतदानको अधिकार प्राप्त गर्नुपर्छ। कर्तव्य पूरा गर्नबाट चुक्नुहुँदैन। मतदान गर्न नजाने हो भने हिंसाको राजनीति गर्नेलाई बल पुग्छ।’

भीड बढ्दै गएपछि अस्पताल परिसरबाट गाडीमा निस्किए। केही क्षण आराम गरेलगत्तै उनले सिफलमा आयोजित चुनावी सभा सम्बोधन गर्न पाइला बढाए। यो समचार अन्नपूर्णमा छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७