प्रधानमन्त्रीका सल्लाहकार भ्रष्टलाई बोक्ने, सुशासन कहाँ खोज्ने ?


२०७५ फाल्गुण २७ सोमबार ०१:५५ बजे

काठमाडौं, २७ फागुन । सरकारले विवादित र विगतमा विभिन्न भ्रष्टाचारमा मुछिएका पितकुमार श्रेष्ठलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जस्तो महत्वपूर्ण निकायको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ ।

लालबाबु पण्डित, बिष्णु रिमाल र पितकुमार श्रेष्ठ

नायबसुब्बा तहसम्मलाई प्रशिक्षण दिने कर्मचारी प्रशिक्षण केन्द्र समेत प्रतिष्ठानमै गाभिएपछि यो संस्था अहिलेको अति आकर्षक मानिन्छ । तर यस्तो महत्वपूर्ण संस्थामा भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउनुपर्ने श्रेष्ठलाई नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले चर्को दबाब दिइरहेका छन् । प्रतिष्ठान संघीय मामिला मन्त्रालय अन्तर्गत पर्ने भएकाले मन्त्री पण्डितलाई रिमालले दबाब दिएका हुन् ।

रिमालले करोडौं आर्थिक चलखेलमा आर्थिक रुपमा भ्रष्ट र नेकपा बिरोधी श्रेष्ठलाई नियुृक्ति गर्न दबाब दिएपछि मन्त्री पण्डित निरीह सावित भएका छन् । मोरङमा आफू स्वयं र नेकपालाई विगतका चुनावमा हराउने भूमिका खेलेका श्रेष्ठलाई नियुक्ति गर्न प्रस्ताव लाने पक्षमा मन्त्री पण्डित छैनन् । तर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले नै दबाब दिएपछि उनी निरीह भएर प्रस्ताव लानैपर्ने बाध्यतामा पुगेको आफ्ना निकट मोरङका नेकपाका नेताहरुसँग भन्न थालेका छन् ।
पितकुमार श्रेष्ठ को हुन् ?

श्रेष्ठले सुकुना माध्यमिक विद्यालयको प्रधानाध्यापक भएको बेला सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भएर दोहोरो सुविधा तलव भत्ता लिएका थिए । संचयकोष समेत दुवैतिरबाट लिएका थिए । सुकुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा ५० लाख रुपैयाँको ५० लाख रुपैयाँ प्राविधिक ल्याब बनाएको आएको रकममध्ये १५ लाखको हिसाब देखाई ३५ लाख हिनामिना गरेको आरोप श्रेष्ठमाथि छ ।

सुकुना क्याम्पसबाट अवकाश हुँदा ३० लाख रुपैयाँ कानुन विपरीत लिएर उक्त रकमको श्रेस्ता नै लुकाएको आरोप पनि पितकुमारमाथि छ । यस्ता विवादित र भ्रष्टाचारको आरोप लागेका र नेकपा बिरोधीलाई प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालले महत्वपूर्ण निकायको प्रमुखमा नियुक्त गर्न ठूलै आर्थिक चलखेल गरेको कुराले पूर्वको नेकपाभित्रै चर्को असन्तुष्टी पैदा भएको छ ।

नेकपा(साविक एमाले र माओवादी) दुवै पार्टीको विरुद्ध कांग्रेसको पक्षमा काम गर्दैआएका विभिन्न उदाहरण समेत भेटिएका छन् । त्यसका केही उदाहरण समेत साँघुलाई प्राप्त भएका छन् । पितकुमार श्रेष्ठले शिक्षक युनियन मोरङमा शिक्षक संगठनलाई हराएर शिक्षक संघको पक्षमा वकालत गरी शिक्षक युनियनमा नेपाली कांग्रेसका डिल्ली पोखरेललाई अध्यक्ष बनाउन सहयोग गरेका थिए । त्रिभुवन विश्वविद्यालय डिपुटी रजिष्टार पूर्वान्चलको कार्यालय भवन बनाउन बिरोध गर्न अगुवाई गरेको आरोप पनि उनीमाथि छ ।

पितकुमार श्रेष्ठ कति हदसम्म नेकपा बिरोधी हुन् भन्ने उदाहरण पूर्वान्चल विश्वविद्यालयको डिन नियुक्तिलाई नै लिन सकिन्छ । उनले पूर्वान्चल विश्वविद्यालयको डिनमा नेकपा पक्षका उद्धव पोखरेललाई बन्न नदिएर नेपाली कांग्रेसको पक्षमा वकालत गरिरहेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।

सामुदायिक विद्यालयको शिक्षक भए क्याम्पसबाट पनि सुविधा लिएको बिषयमा अख्तियारले पितकुमार श्रेष्ठलगायतका बिरुद्ध छानबिन पनि गरिरहेको छ । दोहोरो सुविधा लिनेहरुबिरुद्ध अहिले विद्यार्थीदेखि अभिभावकहरुसम्म आन्दोलनमा उत्रिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७