फेरिएको प्रश्न, ‘पृथकतावादलाई खुल्ला गरिएको हो या सिके राउतले सम्झौता तोडेका हुन् ?’

काठमाडौं, फागुन २६ : नेपालबाट तराई मधेसलाई अलग्गाएर बेग्लै ‘स्वतन्त्र मधेस देश’ बनाउने पृथकतावादी आन्दोलन चलाइरहेका चन्द्रकान्त (सिके) राउतको लागि राजनीतिको मुलधारको मैदान तयार भएको छ । सरकारले राउतसँग गरेको ११ बूँदे सम्झौताले उनलाई नयाँ बाटो बनाइदिएको हो ।

२०७५ फागुन २४ मा राउतसँग सरकारले सहमति गर्दै गर्दा निकै ठुलो उपलब्धी भए जसरी राष्ट्रिय सभागृहमा तामझाम गरियो । गृहमन्त्रालयले गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु भरिभराउ थिए । कार्यक्रमको दृश्य निकै फरक थियो । त्यो दिन प्रधानमन्त्री केपी शर्मा ओली बोल्दा भन्दा कुनै बेला देशद्रोही करार गरिएका राउतले नेकपाका कार्यकर्ताहरुको ताली खाए । मातृभूमिलाई ‘बेश्या’ भनेर बोल्दै र लेख्दै हिडेका राउतले सत्तारुढ दलका कार्यकर्ताहरुको यतिधेरै ताली खाएका की उनी आफै पनि दंग देखिएका थिए ।
यतिसम्मकी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनै राउतसँग तुलना गर्दा पनि हलमा गढगढाहट ताली बज्यो । कुनैबेला अत्याधिक घृणाको पात्र बनाइएका राउतलाई आफ्नै अध्यक्षसँग तुलना गर्दा बजेको ताली निकै अनौठो थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सहमतिलाई निकै ठुलो सफलताको रुपमा अथ्र्याए । यसपछि पनि सरकारी मान्छे र सत्तारुढ दलका नेताहरुले यो सहमतिलाई ठुलो सहमतिको रुपमा व्याख्या गरे । तर, राउतले कार्यक्रममा दिएको अभिव्यक्ति र त्यसपछि उनले गरेको गतिबिधिले भने त्यसलाई स्वात खण्डन गर्छ ।
मञ्चबाट भ्रमपूर्ण र दोहोरो अभिव्यक्ति

राउतले सम्बोधनको क्रममा नै दोहोरो अर्थ लाग्ने अभिव्यत्ति दिए । सरकार जनमत संग्रहको लागि तयार भएको बताए । उनले भने ‘हाम्रो वार्तामा राज्यपक्षले पनि स्वीकार गरेको अवस्था छ कि जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याहरुलाई निवारण गर्ने । हाम्रो माग पनि त्यही हुँदै आएको छ । हाम्रो माग भन्दा यो फरक होइन । हाम्रो नारा नै के हो भन्दाखेरि ‘अब कि बार एक ही माग जनमत संग्रह का ।’

राउतले सरकारले आफूहरुलाई पनि राजनीतिक स्पेस अर्थात् मुलधारमा बसेर स्वतन्त्र मधेसको बहस चलाउन दिएको दाबी पनि गरे । भने, ‘राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै नेपाली जनतामा रहेको त्यो सार्वभौमसत्तालाई प्वाइन्ट नम्बर २ मा उहाँहरुले स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ, कि जे चाहिन्छ, त्यो जनमतबाटै जनताले लिए हुन्छ । यहाँ जनता नै सर्वोपरी हो, जनता भन्दा ठूलो कोही पनि छैन ।’
अध्यक्ष राउतले अब जनमत संग्रहबाटै शान्तिपूर्ण रुपमा अधिकार लिइने बताएका थिए । भनेका थिए,‘त्यो जनमत प्रयोग गर्ने काम जनताको हो । त्यो प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने बाटोमा अब सबै अधिकार, सबै शक्ति जनताको हातमा आएको छ ।’
सहमति बिरोधी गतिबिधि

सहमति हुन केही घन्टा अगाडि पनि राउतले सरकार स्वातन्त्र मधेसको लागि जनमत संग्रह गर्न तयार भएको दाबी सहित स्टाटस लेखेका थिए । सहमतिको ६ नम्बर बूँदामा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ ।
सहमतिको ६ नम्बर बूँदामा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’

तर, सहमति भएको केही घन्टामा नै स्वतन्त्र मधेसको नाममा बनाइएको स्वतन्त्र मधेसको झन्डा सहित प्रर्दशन समेत गरिइएन तराई मधेसका भित्ताहरुमा स्वतन्त्र मधेस अर्थात् छुट्टै मधेस देशको झन्डा बनाएर वाल पेन्टिङ्ग गरियो । ११ बूँदेलाई स्वागत गर्दा स्वतन्त्र मधेसको बेग्लै राष्ट्रगान समेत बजाइयो । सहमति विपरित स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइनको प्रयोग नै जारी राखिएको छ ।
फेरिएको प्रश्न
सरकारसँग सहमति भएको दुई दिन नबित्दै जनकपुरधामको विमानस्थलमा अनौठो दृश्य देखियो । राउतका कार्यकर्ताहरु कुनै भूमिगत छापामार जस्तो मास्क र कभर कालो ज्याकेट लगाए आएका थिए । उनीहरुले स्वतन्त्र मधेस लेखिएका झन्डाहरु बेकेका थिए । उनीहरुले प्रहरीकै अगाडि जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाए ।

रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गरे । कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाए । राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरू विमानस्थललाई चारैतर्फबाट घेरा हालेका थिए । राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरूसँग उनका निजी सुरक्षा गार्डले भने धकेलेर बाहिर निकाले ।
राउतले सभागृहको कार्यक्रममा स्वतन्त्रताको बिषय निकै जोडका साथ उठाए । उनले अब आफूहरु स्वतन्त्रता भएर गतिबिधि गर्ने बताए । तर, त्यो उनले भनिरहेको स्वतन्त्रता चहिँ स्वतन्त्र मधेसको लागि स्वतन्त्रता सहितको अभियान तर्फ संकेत गरेका थिए । उनले भनेका थिए, ‘स्वतन्त्रता अपहरित भएपछि मान्छेले अनुभूति गर्ने रहेछ कि हामीले कति ठूलो स्वतन्त्रता पाएका थियौं । स्वतन्त्रतालाई उपयोग गरेर के के कुरा हासिल गर्न सक्छौं, के के कुरा अभिव्यक्त गर्न सक्छौं भन्ने कुरा स्वतन्त्रता हामीसँग नभएका बेला मात्र थाहा हुन्छ ।’

सहमतिको बचाउमा उत्रिएकाहरुले भने अब पृथकतावादी सकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले पनि यही भनेका छन् । तर, राउतका कार्यकर्ताहरुले भने सहमतिको बुँदा नं. २ को दोस्रो अनुच्छेदमा आधारमा अब स्वतन्त्र मधेसको अभियान खुल्ला भएको अर्थ लगाएका छन् । दोस्रो बूँदमा भनिएको छ, ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्र्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।’
अध्यक्ष राउतले पनि यो भाषालाई सरकार जनमत संग्रहको लागि तयार भएको रुपमा लिएका छन् । उनले लेखेका छन् ‘नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन सँग भएको वार्तामा नेपाल सरकार मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ । यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनिति गर्ने भएको छ ।’
यस कारण जति सहमतिको बचाउ गरे पनि राउतको दुई दिन यताको गतिबिधिले प्रश्न उठेको छ, ‘पृथकतावादलाई खुल्ला गरिएको हो या सिके राउतले सम्झौता तोडेका हुन् ?’