११ बूँदे सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा स्वतन्त्र मधेसको नाममा र्याली
जनकपुर, २६ फागुन : सरकार र सीके राउतबीचको ११ बुंदे सहमतिका विषयमा संसदमा पक्ष–विपक्षमा तर्क चलिरहेका बेला जनकपुरमा भने सीके राउतकै उपस्थितिमा ‘स्वतन्त्र मधेस’ को पक्षमा र्याली निस्किएको छ ।
मूलधारको राजनीतिमा आउने भन्दै ११ बुंदे सहमतिमा गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै सीके राउत स्वतन्त्र मधेस गठवन्धनको झण्डा र आफ्ना सुरक्षागार्डसहित आज (आइतबार) जनकपुरमा देखिएका छन् ।
सरकारसँग छुट्टै मधेस राज्यको माग त्यागेको घोषणा गरेर तराई झरेका सीके राउतलाई जनकपुरमा गठवन्धनका कार्यकर्ताले र्यालीले स्वागत गरेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्याली निकालेका छन् । नेताहरुका अनुसार सीके राउतले जानकी मन्दिरमा पुगेर पूजापाठ गर्ने कार्यक्रम समेत रहेको छ ।
राउतले र्यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले ‘बुलेट प्रुफ’ जस्तो देखिने ज्याकेट, कालो चश्मा र माक्स लगाएर र्याली निकालेको स्थानीयले जानकारी दिएका छन् ।
किन तोडियो सहमति ?
सरकारसँग भएको ११ बुंदे सहमतिमा सीके राउते स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेका छन् । तर, गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरेका छन् ।
सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेको भेटिएको छ ।
यस्ता सुरक्षा गार्डबाट सीकेको सुरक्षा
राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुग्नुअघि नै त्यहाँ पुगेका स्वतन्त्र मधेस समर्थकले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।
उनीहरुले सिके राउतसँग प्रतिक्रिया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेको जनाइएको छ । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् ? भन्ने कुरा खुल्न बाँकी नै छ । यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।
आजको संसद वैठकमा पनि सीके राउतको विषयले चर्चा पाएको थियो । नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले सीके राउतसँगको सहमति सच्चिनु पर्ने माग गरे । उनले सहमतिको भाषामा सीके राउतले स्वतन्त्र मधेस आन्दोलनका क्रममा भएका गल्ती र विष वमनप्रति कुनै पश्चाताप नगरेको नेता रावलको भनाई थियो ।
यता कांग्रेस सांसद गगन थापाले समेत जनमत संग्रह केका लागि भनेर गृहमन्त्रीसमक्ष प्रश्न गरेका थिए । गृहमन्त्री रामबहादुर थापाले सरकारले मधेसमा जनमत संग्रह गर्ने भनेर राउतसँग कुनै सहमति नगरेको स्पष्ट पारेका थिए ।