बलात्कारीलाई मृत्युदण्ड होइन, ‘तलको अङ्ग’ नै काटिदिनु पर्छ : ज्योती मगर

काठमाडौं, १८ फागुन । ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित गायिका तथा मोडल हुन् । भलै, उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्ने गरेका छन् ।

मोडलिङ तथा गायनमा वर्षौदेखि सक्रिय ज्योती आफ्ना विषयमा बजारमा चल्ने हल्लाको पछि कहिल्यै नलाग्ने गरेको बताइन् । उनी भन्छिन्, ‘आफ्नो तर्फबाट सधै राम्रो काम गर्नुपर्छ, अरुले के भन्छन् र के गर्छन् भन्ने कुराको मैले खासै मतलब राख्दिँन ।’ दर्शकलाई मनोरञ्जन चाहिएकाले आफूले दर्शकका लागि फरक किसिमले मनोरञ्जन प्रदान गरिरहेको उनले बताइन् ।
हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा विशेष धारणा राखेकी छिन् । ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनीहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’
मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जबरजस्ती नगर्नुस्’, ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्ने छ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख मानेकी छिन् ।
‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिंड्छ अनि कसरी रोकिन्छन् घटना ?, भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिंड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?’
हामी ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको हैन, उनी थप्छिन्, ‘केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेका हुन् ।’ जतिसुकै लोकतन्त्र अथवा गणतन्त्र आए पनि कडा भन्दा कडा कानुन नभएसम्म यो समाधान नहुने उनले बताइन् । कानुन बलियो भयो भने बलात्कार आफै समाधान हुन्छ, उनले भनिन्, ‘पुलिस कार्यालयमा पुगेको जघन्य अपराधको घटना समेत विभिन्न व्यक्ति र प्रलोभनमा मिल्छ भने यो राज्यबाट अरु के आशा राख्नु ?’
नेपालमा धेरै प्रकारका कानुनमा संसोधन भए पनि कहिल्यै बलात्कारीलाई दिने कानुनको विषयमा नेताहरुले संशोधन गरेका छैनन्, आक्रोशित हुँदै उनले थपिन्, ‘महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपर्छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरमा पुगेर होमवर्क सिध्याएर घर फर्कदै गर्दा बलात्कारीको फन्दामा परिन् । बलात्कारी अझैसम्म फरार छन् । यो एउटा उदाहरण मात्रै हो, नेपालभरी निर्मला जस्ता धेरै चेलीहरुले अनायसै रुपमा ज्यान गुमाउनु परेको छ ।
निर्मलाका परिवारले जस्तै सयौं परिवारले पीडकलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आन्दोलन गरिरहेका छन् । ज्योती थप्छिन्, ‘यस्तो खालको घटना आफ्नै घरमा घट्यो भने के होला भनेर सबैले सोच्ने हो भने पक्कै पनि घटनामा कमी आउँथ्यो कि ?’
नेपालमा पछिल्ला केहि वर्षदेखि बलात्कार गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गरिए बलात्कार घट्छ र यौन हिंसाका घटनामा कमी आउँछ भन्दै बेला–बेलामा आन्दोलन भैरहेको पाइन्छ । बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्थाको माग गर्नेहरू अत्याधिक छन् । तर, के मृत्युदण्डले बलात्कारको श्रृंखला घटाउन साँच्चीकै मद्दत पुग्छ त ?
ज्योती भन्छिन्, ‘बलात्कारीलाई मृत्युदण्ड दिइसकेपछि त्यसले कहिल्यै सजाय भोग्न पाउँदैन, उसलाई सधैभरी सजाय दिने हो भने त्यसको तुरुन्तै तलको अङ्ग नै काटिदिए हुन्छ । त्यसपछि उसले कहिल्यै चाहेर बलात्कार गर्न नपाओस् ।’ नारी मासिकबाट