कोशीमा आज बजेट पारित गर्ने तयारी, कांग्रेस-एमालेले ह्वीप जारी


२०८३ असार २४ बुधबार १३:२८ बजे

काठमाडौं । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ को बजेट पारित गराउन नेपाली कांग्रेस र नेकपा ९एमाले० ले आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्।

आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित भई बजेटको पक्षमा मतदान गर्न दुवै दलका प्रमुख सचेतकले सांसदहरूलाई निर्देशन दिएका हुन्। प्रदेशसभा बैठकको कार्यसूचीमा बजेट पारित गर्ने विषय समावेश गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले प्रस्तुत गरेको बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध जनाएका थिए। बजेटको विपक्षमा हस्ताक्षर अभियानसमेत सुरु भएपछि प्रदेश सरकार दबाबमा परेको थियो।

विवाद समाधानका लागि सरकारले विभिन्न मन्त्रालयबाट एक अर्ब रुपैयाँ समर्पण (सरेन्डर) गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको आरोप लगाउँदै सत्तापक्षीय सांसदहरूले नै असन्तुष्टि जनाएका थिए। सोही कारण प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो। सरकारले बजेटमा एक अर्ब रुपैयाँ कटौती गर्ने प्रतिबद्धता जनाएपछि विवाद केही साम्य भएको हो।

एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय अभ्यासअनुसार बजेट पारित गर्न ह्वीप जारी गरिएको बताएका छन्। कोशी प्रदेश सरकारले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७