संसद्‌मै इन्टरनेट समस्या, प्रत्यक्ष प्रसारण अवरुद्ध


२०८३ असार १८ बिहीबार १२:४४ बजे

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक प्राविधिक समस्याका कारण प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा आएको समस्याका कारण युट्युबमार्फत बैठकको लाइभ प्रसारण रोकिएको हो। चार दिनको अन्तरालपछि बसेको आजको बैठकमा सरकारले ल्याएका चारवटा अध्यादेश प्रतिस्थापन विधेयकहरूलाई अगाडि बढाउने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३' माथि दफावार छलफल र पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३' माथि दफावार छलफल र पारितको प्रस्ताव पेश गर्नेछन्।

साथै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३' र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३' माथि दफावार छलफल र पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ।

संसद् अधिवेशन नरहेको समयमा सरकारले ल्याएका आठवटा अध्यादेशमध्ये यी चारवटा अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्मा आएका हुन्। प्रतिनिधिसभाबाट पारित भएपछि यी विधेयकहरू राष्ट्रिय सभामा पठाइनेछन् र त्यहाँबाट पारित भएर पुनः प्रतिनिधिसभामा फर्केपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संवैधानिक प्रक्रिया रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७