रास्वपा पदाधिकारीमा कुन पदमा कसको उम्मेदवारी ?

महिला उपसभापतिमा सोविता र तोसिमा, महामन्त्रीमा ९ जना


२०८३ असार १२ शुक्रबार १०:५९ बजे

चितवन, १२ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ पदाधिकारी चयनका लागि आज चितवनमा मतदान हुँदैछ। छ दिनदेखि जारी महाधिवेशनको अन्तिम चरणमा पार्टीको उपल्लो तहका नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार आज पाँचवटा विभिन्न पदाधिकारी पदका लागि प्रतिस्पर्धा हुनेछ।

पार्टीको सभापतिमा रवि लामिछाने र खुलातर्फको पुरुष उपसभापति पदमा डा. स्वर्णीम वाग्ले यसअघि नै सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्। बाँकी रिक्त रहेका पदाधिकारी पदहरूमा भने निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो। विशेषगरी महिला उपसभापति पदका लागि सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी, पार्टीको महामन्त्री पदका लागि निकै ठूलो प्रतिस्पर्धा देखिएको छ। सुरुमा उम्मेदवारी दर्ता गराएका जगदिश खरेलले आफ्नो नाम फिर्ता लिएपछि हाल कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

सहमहामन्त्री पदका लागि पनि उल्लेख्य उम्मेदवारी परेको छ। खुला सहमहामन्त्रीतर्फ रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री गरी ११ जना प्रतिस्पर्धामा छन्। त्यस्तै, महिला सहमहामन्त्रीका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा गरी पाँच जना उम्मेदवार रहेका छन्।

पछिल्लो छ दिनदेखि सञ्चालन भइरहेको महाधिवेशनमा सहभागी धेरैजसो प्रतिनिधिहरू आफ्नो घर फर्किसकेको अवस्थामा सीमित प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन प्रक्रिया सम्पन्न हुन लागेको हो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७