चितवनमा ‘एक टुक्रा क्रान्ति’ छोडेर फर्किएका गगन
सम्झाए इतिहासको बलिदान र संघर्ष, खोजे संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताप्रतिको स्पष्टता ।
चितवन : वाम पृष्ठभूमिमा लेखक झलक सुवेदीले नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटनमा दिएको मन्तव्य फेसबुकमा सेयर गर्दै लेखेका छन्, ‘यिनको मन्तव्य मन पर्यो, सेयर गरियो ।’ नेकपा (एमाले) की नेतृ उषा किरण तिम्सिनाले पनि सभापति थापाको मन्तव्य सेयर गर्दै लेखेकी छिन्, ‘नेकपा (एमाले) भएर पनि गगन थापाको भाषण मन पर्छ भन्न सक्छन् मेरा कमरेडहरूले । के गर्नु, राम्रो भाषणलाई राम्रो भन्न सक्ने वातावरण नै छैन। कस्तो राम्रो भाषण, सभापतिज्यू ।’
रास्वपाको प्रथम महाधिवेशनको बन्द सत्र चितवनमा जारी छ । सभापति थापा काठमाडौं फर्किएका छन् । तर सामाजिक सञ्जालमा भने चितवनको बन्द सत्रको समाचारभन्दा उद्घाटन सत्रमा सभापति थापाले दिएको मन्तव्यको चर्चा छ । त्यसो त चितवनमा पनि सभापति थापाको मन्तव्यको उस्तै चर्चा रहेको रास्वपाका प्रतिनिधिले बताए । करिब १२ मिनेट बोलेका सभापति थापाले शालीन तरिकाले आफ्ना मान्यताहरू दृढताको साथ राखेका थिए । सभापति थापाले रास्वपाको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्टता, समावेशिता, इतिहासप्रतिको सम्मान, राष्ट्रियता र सार्वभौमिकताका विषयमा सम्झाएका थिए ।
सभापति थापाको यो मन्तव्य नेपाली कांग्रेसले मात्रै होइन सबै दलका नेता तथा कार्यकर्ताहरूले धमाधम सेयर गरिरहेका छन् । नेकपा (एमाले) का एक पदाधिकारी भन्छन्, ‘गगन जीले चितवनमा ‘एक टुक्रा क्रान्ति’ छोडेर काठमाडौं फर्किए ।’
सम्झाए नीलो झण्डामुनिको रातो दाग, पढाए इतिहास
थापाले २०१८ सालको एउटा ऐतिहासिक घटनाको स्मरण गर्दै आजको वर्तमान इतिहासको संघर्ष र बलिदानको जगमा बनेको सम्झाए । सभापति थापाले विगतको भर्त्सना र विरोध मात्रै नगर्न इतिहासको घटना पढाए ।
‘तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ कम्तीमा ५० जनाको शव गाडिएका छन् । उनीहरूलाई २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको थियो । उनीहरूले चार तारे झण्डा उठाउँदै जय नेपाल भनेका थिए तर आफ्ना लागि होइन लोकतन्त्र, तपाईं र हाम्रा लागि’ थापाले भने, ‘त्यही कारणले तपाईंले नीलो झण्डा फहराउन पाउनुभएको छ । एक पटक झण्डा फहराउँदै गर्दा नीलो झण्डामुनि अलिकति रातो छ । चितवनको जमिनमा पनि त्यो रातो छ । त्यो रातो ती सहिदहरूले लगाएको रातो हो ।’
थापाले उल्लेख गरेको साढे छ दशक पुरानो चितवन, भरतपुरको घटनामा जगतप्रकाशजङ्ग शाह, हरिप्रसाद गुरुङ, बुद्धिसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, पन्चे गुरुङ लगायतको निर्मम हत्या भएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।
२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाडौंबाट सेना पठाइएको थियो । थापाले भने, ‘३५ वर्षमा केही भएन नभन्नुहोला । पञ्चायतको ३० वर्षका संघर्षका कथालाई अन्डरमाइन पनि नगर्नुहोला ।’ रास्वपाले विधि मिच्यो वा विजय उन्मादले अहंकारी बन्यो भने आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह र ठेकेदारको खुट्टा भाँच्छु भन्ने पूर्वाधार विकास मन्त्री सुनील लम्सालको भनाइको थापाले खण्डन गरे, शाह र लम्सालको नाम उच्चारण नगरी ।
प्रश्नलाई कमजोर नबनाउनु
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन सुझाव दिए । थापाले कार्यकर्ताहरूलाई आफ्नै दलभित्र पनि प्रश्न गर्न नछाड्न आग्रह गरे । रास्वपाजनलाई सम्बोधन गर्दै थापाले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नै दलका नेताहरूलाई ‘भगवान्’ र ‘बा’ बनाएर गल्ती गरिसकेका छौँ, तपाईँहरूले त्यस्तो गल्ती नगर्नुहोला । गल्ती गर्दा आफ्ना नेताहरूलाई पनि प्रश्न सोध्न नडराउनुहोस् ।’
सभापति थापाले आफ्ना पुराना अनुभव साझा गर्दै भने, “हामीले ढिला गर्यौँ र त्यसको सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको होइन भनेर केही अघि नै बोल्न सक्नुपथ्र्यो, तर हामीले सकेनौँ । हामीले गरेको त्यो गल्तीबाट तपाईँहरूले सिक्नुहोला । आफ्नै नेतालाई प्रश्न गर्ने आँट र साहस राख्नुहोस् । गल्ती हुँदा अन्य पार्टीलाई भन्दा पहिले आफ्नै पार्टीलाई औँल्याउन सक्नुपर्छ ।’
थापाले गल्ती गर्ने नेतृत्वलाई समयमै सचेत नगराउँदा सजायको भागी भएको संस्मरण गर्दै प्रश्न गर्ने आँट गर्न सुझाव दिए । ‘हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अगाडि भन्न सक्नुपथ्र्यो सकेनौँ । हामीले ढिला गर्यौँ । त्यसैले सजाय पनि पायौँ,’ थापाले भने, ‘तपाईँहरूले त्यसबाट पनि सिक्नुहोला । रास्वपाका प्रत्येक सदस्यहरूलाई म भन्न चाहन्छु आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला ।’
रास्वपाले २१ फागुनको निर्वाचनमा प्राप्त गरेको असाधारण जनमत सदुपयोग गर्न नेताहरूबीच अहंकारको टकराव हुन नहुने र जनमतबाट प्राप्त शक्तिको सीमा बुझ्नुपर्ने थापाको सुझाव थियो । रास्वपा असफल भयो भने त्यसले बहुआयामिक असर पार्ने थापाको दाबी छ । ‘इतिहासले हामीलाई यो पनि बताएको छ, जुन–जुन बेला जनमत प्राप्त गरेका दल दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन् । त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो । त्यो पार्टी मात्र होइन सँगै रहेका अन्य पार्टी, प्रणाली, लोकतन्त्र र सबैभन्दा बढी नेपाली नागरिक प्रभावित भए । हाम्रो पुस्ता खेर गयो’ सभापति थापाले भने, ‘त्यसकारणले गर्दा रास्वपाले प्राप्त गरेको यो सफलता सही ढंगले अगाडि बढ्नुपर्दछ ।’
आफ्नो पार्टीले रास्वपासँग अस्वस्थ प्रतिस्पर्धा नगर्ने थापाले बताए । ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौँ,’ थापाले भने, ‘तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एक दिन । तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर होइन ।’
पछिल्ला १०–१२ वर्षमा कांग्रेस सहितका दलका नेताहरू आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थका लागि सत्तामा टिकिरहन भागबन्डा र गठबन्धनको राजनीति गर्दा निरास भएर जनताले सजाय दिएको थापाले उल्लेख गरे । नीलो झण्डा फहराउँदै गरेका रास्वपाका नेता कार्यकर्तालाई सभापति थापाले सफलताको शुभेच्छासँगै सजग गराए । उनले भने, ‘नीलो झण्डामुनिको रातो रगतलाई तपाईँले बिर्सन पाउनुहुन्न । हामीले पनि बिर्सन पाउँदैनौँ ।’
.gif)

.png)

