‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ’

‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ। यो अनुसन्धान अब छिट्टै निष्कर्षमा पुग्दैछ र केही दिनभित्रै यो विषय अदालतको कठघरामा पुग्नेछ।’


२०८३ जेठ २७ बुधबार ०९:५९ बजे

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधमा संलग्न समूह र तिनका 'पालित-पोषित' हरूबाट प्रधानमन्त्री तथा आफूमाथि नियोजित रूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी विशेष छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो गम्भीर खुलासा गरेका हुन्।

सरकारले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउने ठूला वित्तीय अपराधीहरूमाथि कडा निगरानी र छानबिन अघि बढाएका कारण आफूहरूमाथि घेराबन्दी सुरु भएको उनको दाबी छ। छलफलका क्रममा अर्थमन्त्री वाग्लेले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याउने गरी भएका ठूला वित्तीय अनियमितताका फाइलहरू खोल्ने काम भइरहेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

'अहिले प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,' समिति बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्री वाग्लेले भने, 'नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ। यो अनुसन्धान अब छिट्टै निष्कर्षमा पुग्दैछ र केही दिनभित्रै यो विषय अदालतको कठघरामा पुग्नेछ।'

उनले सरकारको यो आक्रामक कदमबाट तर्सिएका गिरोहहरूले राज्यका प्रमुख नेतृत्वलाई कमजोर बनाउन र अनुसन्धानको दिशा मोड्नका लागि मिडिया र अन्य माध्यमबाट भ्रम फैलाउने खेल खेलिरहेको आशंका व्यक्त गरे। 'हामीसँग रुष्ट भएका तिनै वित्तीय अपराधी र तिनकै समूहबाट पालित–पोषित शक्तिहरूबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई बलियो शंका लागेको छ,' उनले थपे।

बैठकमा अर्थमन्त्री वाग्लेले जनप्रतिनिधिहरूको भूमिकामाथि समेत चासो राख्दै सांसदहरूलाई त्यस्ता गिरोहको प्रलोभन वा प्रभावमा नपर्न विशेष आग्रह गरे। राज्यकोष र वित्तीय प्रणालीमाथि डकैती गर्नेहरू जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइने दृढता व्यक्त गर्दै उनले नीति निर्माण तहमा रहेका सांसदहरू यस्ता माफिया र अपराधीहरूबाट सजग रहनुपर्नेमा जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७