बालबालिकाको क्यान्सर उपचार निःशुल्क
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट
काठमाडौँ, जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रतर्फ कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवाको विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताएका हुन्। सरकारले नागरिकको स्वास्थ्य पहुँच बढाउन स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टाएको छ।
बजेटमार्फत देशभर निर्माणाधीन अवस्थामा रहेका ३३६ वटा आधारभूत अस्पतालहरूको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माण कार्य अझै सुरु हुन नसकेका अस्पतालहरूको हकमा वैज्ञानिक नक्सांकन तथा पूर्वतयारीका कामहरू अगाडि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी दूरदराजका क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ भने संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत छुट्टै आधुनिक जलन उपचार केन्द्र स्थापना गरिने घोषणा बजेटमा गरिएको छ।
प्रादेशिक अस्पतालहरूको सुदृढीकरण अन्तर्गत मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ। यसैगरी बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण पहल कदमी लिँदै सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ। सरकारको यस कल्याणकारी कदम र पूर्वाधार विकासको योजनाले आम नागरिकको स्वास्थ्य अवस्थामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
.gif)

.png)

