मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य
काठमाडौँ : एसिड आक्रमणमा परेकी मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपाका नेताहरूले उनलाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले खातुनलाई एउटा ब्रान्ड भएको बताए । उनले भने, 'मुस्कान खातुन एउटा ब्रान्ड हो। अमेरिकादेखि युरोपसम्मका महत्त्वपूर्ण नेता र राष्ट्रपतिले पनि सम्मान गरेका छन् । १६ वर्षको उमेरमा उनलाई शरीरमा एसिड प्रहार गरिएको थियो।'
नेपाले थपे, 'तर उनले हिम्मत बुलन्द गर्दै महिला हिंसाविरुद्ध अभियान चलाएर एउटा अलग किसिमको विश्वास प्रस्तुत गर्नुभयो । त्यो सबैका लागि, न्यायको पक्षमा उभिएका व्यक्तिहरूका लागि गौरवको कुरा हो। तपाईँलाई विशेष स्वागत र सम्मान गर्न चाहन्छु। आफूसहित परिवारका सदस्य लिएर आज पार्टीमा प्रवेश गर्नुभएको हुनाले हार्दिक स्वागत छ।'
खातुनलाई पार्टीको केन्द्रीय सदस्य घोषणा गरिएको छ। वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो ।
राष्ट्रिय सभागृहको कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, बिपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि समाहित भएका छन् ।
.gif)

.png)

