‘धम्की दिने सचिवले राजीनामा दिन्छन्, कुलिङ पिरियडमा सरकारले खुट्टा नकमाओस्’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयक तत्काल ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा बोल्दै दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएको भन्दै खुट्टा नकमाउन सरकारलाई आग्रह गरे।
उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौं भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ। सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन्।’ उनले धम्कीको भरमा नीति निर्माणको काम रोक्न नहुने बताए।
गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक सरकारले केही दिन रोक्ने निर्णय गरेको सुनिएको छ । निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ । जस अनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् ।