उद्योगमन्त्री नगएपछि समिति बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि बैठक स्थगित भएको छ। नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका थिए।
मन्त्री उपस्थित नभएका कारण सांसदहरूले धारणा राख्न नमानेपछि बैठक स्थगित गरिएको छ। बैठकमा माओवादी सांसद सूर्य मान तामाङ (दोङ) ले उद्योगमन्त्रीको कार्यशैलीमाथि आफूहरूलाई शंका लागेको बताए । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उनले बताए । समिति सभापति अव्दुल खानले नुनको विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए। मन्त्री उपस्थित नभएपछि सभापति खानले बैठक स्थगित गर्नुपरेको बताए।