कांग्रेसकै सांसदले भने–सरकार सरकार जसरी चलेन
‘राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिलेर बनेको सरकार सरकार जसरी चल्न नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले सांसदको हैसियतले त्यस्तो अनुभूति गरेको बताएका हुन् ।
‘अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकार जसरी चलेको अनुभूति गर्न सकेको छैन’, उनले भने । उनले संसदमा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो त्यो हुन नसकेको पनि बताए । ‘संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन’, उनले भने । उनले न्यायपालिकमा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । ‘जनता निराश छन् । जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ । एक किसिमको सोच र सम्भावना क्रियट गर्न सकेका छैनौं’, गौतमले भने ।
उनले शीर्ष नेताहरूले राष्ट्रिय सहमति गर्ने बेला आइसकेको समेत बताए । ‘अब बेर भइसक्यो, एक पटक शीर्षस्थ नेताले टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सकौं, संविधान संशोधन गर्न सकौ’, उनी भन्छन्, ‘जनतामा आशा र भरोसा पैदा गर्न सकौं र मुलुकलाई निश्चित दरीसँग हिँड्न सके मुलुकलाई एक ठाउँमा पु¥याउँला ।’ सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।