सशस्त्र प्रहरीका असइ छत्यालद्वारा सगरमाथा आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक(असइ) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । आइतबार बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा पुगेको समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी लिए ।
सगरमाथा शिविरमा उनले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् । सगरमाथा आरोहण गर्ने उनी सशस्त्र प्रहरी बलका दोस्रा कर्मचारी हुन् । यसअघि गत वर्ष इन्सपेक्टर सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए ।