पालिका अध्यक्षले दिए वडाध्यक्षलाई ‘ठेगान लगाउने’ धम्की

मोरङ । मोरङमा पालिका अध्यक्षले आफ्नै वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिएका छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडालाई ज्यान मार्ने धम्की दिएका हुन् ।
खतिवडालाई गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको आरोप माझीमाथि लागेको हो । माझी गत उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पालिका अध्यक्षको कार्यभार सम्हालेयता उनी अनेक विवादमा मुछिंदै आएका छन् । पछिल्लो समय वडाध्यक्षलाई धम्की दिएको विवादमा परेका हुन् ।
ग्रामथान गाउँपालिकामा वडाहरूलाई दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडामाथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका छन् । वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३१ गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएका हुन् ।
ग्रामथान–२ पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अध्यक्ष माझी आफैंले वडाध्यक्ष खतिवडालाई सार्वजनिकस्थलमा लगी गालीगलौज समेत गरेका थिए । खतिवडा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनले आफूलाई पालिका अध्यक्षले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बताए । गाउँपालिका अध्यक्ष माझीसहित ४–५ जना कार्यक्रम हलमा प्रवेश गरेर ठेगान लगाउने धम्की दिएको उनको भनाइ छ ।
नेकपा (एमाले) मोरङले घटनाको विरोध गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अजम्बर राईले शनिबार विज्ञप्ति जारी गर्दै माझीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । साथै, एमालेले वडाध्यक्ष खतिवडाको जिउधनको सुरक्षा हुनुपर्ने माग समेत गरेको छ ।
गाउँपालिका अध्यक्ष माझीले भने आफूले वडाध्यक्षलाई दुर्व्यवहार नगरेको बताएका छन् । ‘जनताको काम नगरेकाले २–४ शब्द भनियो होला । त्यसलाई गालीगलौज र दुव्र्यवहार गरेको तथा धम्की दिएको भन्न मिल्दैन । त्यो जनताको आक्रोश हो । काम नगरेका कारण जनता रिसाउनु स्वभाविक हो,’ उनले भने ।