सगरमाथा संवाद

जसले बढी प्रदूषण गर्छन्, तिनले नै बढी योगदान दिनुपर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)


२०८२ जेठ २ शुक्रबार १७:२२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।’ विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तर्राष्ट्रिय ६१ संघ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ । 
सम्बोधनको पूर्णपाठ

सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद, पहलकदमी, गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर, र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो । आज, ’लोकल र ग्लोबल’ छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् । संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।

टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन् । केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ । यही गहिरो अन्तरनिर्भर यथार्थभित्र, इमानदार संवादको लागि स्थान, आपसी ज्ञान साटासाट गर्न,  र सामूहिक कदम चाल्न गरमाथा संवादको जन्म भएको हो । हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं, सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर !

र आशा गर्छौं यो संवाद, हाम्रो संवाद, त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा,  र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा । महिला तथा सज्जनबृन्द,आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ। चुनौतीहरू विशाल छन्  तीव्र रूपमा नजिकिंदै छन् । महामारीपछिको पुनःस्थापना अझै नाजुक छ। जलवायु सङ्कट झन् तीव्र बन्दैछ। संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ। वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ । असमानता, देशभित्र र देशहरुका बीचमा, गहिरिँदो छ । एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ । र अझै, यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
संवादको शक्ति ।

महिला तथा सज्जनबृन्द,
नेपाल भूगोलको टुक्रा मात्रै होइन । यो पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ । यहीँ, चेतना जागृत भएको थियो । यो बुद्धको भूमि हो । यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो, जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो । यो त्यही भूमि हो, जहाँ सन्तहरूले ध्यान गरे। साधकहरुले सत्य फेला पारे । र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे ।
नेपाल सदा खोजकर्ताहरूको थलो रहँदै आएको छ । विजेताहरूको होइन, चिन्तकहरूको, युद्धको होइन संवादको । हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ । सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा । सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो । हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन ।

यस्तो ‘स्पेश’ जहाँ प्रज्ञा नतमस्तक हुन्छ विनम्रताका साथ । जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन् श्रद्धाका साथ । र जहाँ जवाफ खोजिन्छन् अहम् बाट होइन, सहअनुभूतिका साथ । हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः  ‘वादे वादे जायते तत्वबोधः’ अर्थात् संवादबाटै सत्य । चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कस आवाजले । सत्य संवादले काम गर्छ । सुन्ने÷ गुन्ने क्षमताले अन्तर्मनको वचनले । 
सगरमाथा संवाद यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो । हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छः ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।’ हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन, यो त हाम्रो दैनिक यथार्थ हो, तर, केवल हाम्रो मात्र होइन विश्वकै साझा चिन्ताको विषय हो । के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन ‘संरक्षक’हरूका संरक्षण बिना बचाउन सकिन्छ ? हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ । 

आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म तिनीहरू पृथ्वीका जल–भण्डार हुन् । तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् । र, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।
तिनीहरूको नाजुकता, हाम्रो साझा असुरक्षित अवस्था हो । संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौंः
-    हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो । 
-    हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो ।
-    हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो ।

यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् । सुनिने एउटा संकल्प, कार्यमा उत्रने, र हातेमालो गर्दै— भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।

महिला तथा सज्जनबृन्द,
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन ।
यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।
यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
कुनै पनि राष्ट्र यसबाट अछुतो छैन ।
कुनै पनि समाज पूर्ण सुरक्षित छैन ।
तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।
ती गरिबहरू,
ती अत्यन्त असुरक्षितहरू,
ती हिमाली र कम विकसित राष्ट्रहरू ।
नेपाल पनि तीमध्ये एक हो ।
यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।
तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं ।
हिमनदीहरू पग्लिरहेका छन् ।
वर्षा अनिश्चित बन्दै गइरहेको छ।
पहिरोहरूले घर–बास बगाइरहेका छन् ।
बाढी र खडेरी अकस्मात आउँछन् ।
तर अझै, हामी डटिरहेका छौं ।
हाम्रा उत्सर्जनहरू न्यून छन्ल, गभग नगण्य ।
तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।
हाम्रा हिमालय पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् ।
हाम्रा जंगल जसले हाम्रो आधा भू–भाग ढाकेका छन् कार्बन सोस्छन्, आशाको सास फेर्छन् ।
हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन् लाखौंको प्यास मेटाउछन् ।
हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन् धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन् ।
नेपालले सन् २०४५ सम्ममा खुद–शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ ।
विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले ।
हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं ।
हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं ।
हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं ।
तर हामी यी काम एक्लै गर्न सक्दैनौं ।
कुनै देशले पनि एक्लै गर्न सक्दैन ।
जलवायु परिवर्तन एक वैश्विक आपत् हो ।
यसको समाधान पनि वैश्विक हुनुपर्छ ।
एक यस्तो उपाय न्यायमा आधारित ।
उत्तरदायित्वमा आधारित ।
ऐक्यवद्धताबाट उत्प्रेरित ।
जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ ।
जसले सबैभन्दा बढी प्रदूषण गर्छन्—उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ ।
उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ— वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत् ।
र, हामी हिमाललाई नबिर्सौं ।
विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् ।
तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् ।
तिनैले पानीको भण्डारण गर्छन् ।
तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् ।
तिनैले जीवनको रक्षा गर्छन् ।
जब हिमाल पग्लिन्छन्  उपत्यकाहरू पीडित हुन्छन् ।
नदीहरू सुक्छन् ।
बालीहरू नष्ट हुन्छन् ।
सागरहरू उर्लन्छन् ।
जीवन विखण्डित हुन्छ ।
हिमालय हाम्रो तेस्रो ध्रुव विश्व औसतभन्दा छिटो तात्दैछ ।
हिमनदीहरू हराउँदैछन् ।
हिमतालहरू फैलिंदै छन् ।
तटीय क्षेत्रका करोडौं मानिसहरू जोखिममा छन् ।
हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ ।
‘हिमालदेखि महासागरसम्म’ को सोच ।
हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्  हामीले ध्यान दिनुपर्छ
विशेष वित्तीय सहयोगसहित ।
तदनुकूलका नीतिहरू सहित ।
हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ ।
जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ ।
महिला र युवालाई अगाडि ल्याउनु पर्छ ।
र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ ।
आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं ।
पूर्व सूचना प्रणाली निर्माण गरौं ।
डाटा साझेदारी गरौं ।
सीमापार सहकार्य मजबुत पारौ ।
र सबैभन्दा महत्वपूर्ण, हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं ।
यसरी नै हो, दीगो उत्थानशीलता बढाउने ।
यसरी नै हो, पृथ्वीको सम्मान गर्ने ।
र यसरी नै हो, हाम्रो साझा भविष्य जोगाउने ।
महिला तथा सज्जनबृन्द,
हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्
अलग रहने भनेर होइन,
अझै माथि उठ्न सकिन्छ भनेर हो ।
तिनीहरूले दृष्टिकोण दिन्छन् ।
तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन् ।
त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ
सङ्कीर्ण स्वार्थहरूभन्दा माथि ।
साझा उच्च उद्देश्यतर्फ ।
आउनुहोस्, हामी हातेमालो गरौं ।
साहस र संवेदनाका साथ अगाडि बढौं ।
न्यायपूर्ण भविष्यका लागि ।
दीगो पृथ्वीका लागि ।
हामीलाई चाहिन्छ नवीन संकल्प ।
साहसी विचार ।
नयाँ लगानी,
र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य । 
हरित, उत्थानशील र दीगो भविष्य रोजाइ मात्र होइन ।
अघि बढ्ने एक मात्र बाटो हो ।
सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो
सुन्ने गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च ।
विश्वास निर्माण गर्ने एक साझा थलो ।
सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता
र मानिसहरूबीचको समानता
दूरको सपना होइन, जीवित यथार्थ बनोस् ।
आउनुहोस्, हामी आरोहण गरौं
उत्थानशीलताको चुचुरोतिर
न्यायको शिखरतिर
र साझा आशामा निर्माण भएको भविष्यतिर ।
हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं ।
यस संवादभरि, तपाईंहरूका आवाजको तपाईंहरूको दृष्टिकोणको ।
नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्
यस सगरमाथाको भूमिमा ।
यस बुद्धको भूमिमा ।
धन्यवाद !

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७